काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेका छन्। आइतबार साँझ बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार, यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँको मेयर निर्वाचित भएका साह अब औपचारिक रूपमा दलीय राजनीतिमा सहभागी भएका छन्। केन्द्रीय समितिको बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेनलाई ‘वरिष्ठ नेता’ भन्दै स्वागत गरेका थिए।
बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रवक्ता झाले जानकारी दिए। रास्वपासँग भएको सहमतिअनुसार बालेनको समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री र सहमहामन्त्री पद पनि पाउनेछन्।
रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच पुस १३ गते एकता गर्ने सहमति भएको थियो। सोही सहमतिका आधारमा आइतबारको केन्द्रीय समिति बैठकले पार्टी समायोजन गरेको हो।
आज मनोनित भएका केन्द्रीय सदस्यहरूमा सुनिल लम्साल, भुवदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा। नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउँद रहेका छन्। उनीहरूलाई केन्द्रीय समितिको बैठकमा रास्वपा सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।




.gif)





