काठमाडौँ । कात्तिक ८, नेपालीहरुको दोस्रो महान पर्व तिहार र नयाँ वर्ष नेपाल संवत सकिएसँगै अहिले देशभर छठ पर्व मनाउने क्रम जारी छ । तराइ क्षेत्रमा विशेष रूपमा मनाइने यो पर्व पनि केही दिनमै सम्पन्न हुँदैछ, जसपछि सबै आफ्ना नियमित काममा फर्कने तयारीमा छन्।
यसैबीच, लामो चाडपर्वका कारण नेपाल शेयर बजार (नेप्से) पनि निरन्तर बन्द रहँदै आएको छ। तिहारअघि अन्तिम कारोबारको दिन बजार १६ अंकले वृद्धि हुँदै बन्द भएको थियो। दशैं र तिहारबीच केही दिन बजार खुले पनि लगानीकर्ताको ध्यान चाडपर्वकै रौनक तर्फ केन्द्रित भएकाले कारोबारको मात्रा न्यून रह्यो।
बजार विश्लेषकहरूका अनुसार चाडपर्वको माहोलमा धेरै लगानीकर्ता घुमघाम र उपभोगतर्फ आकर्षित भएका कारण शेयर खरिदमा सक्रिय देखिएनन्। अब भने चाडपर्व सकिँदै जाँदा बजारले कस्तो लय समात्छ भन्नेमा लगानीकर्ताको ध्यान केन्द्रित भएको छ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि विभिन्न कम्पनीहरूले लगातार लाभांश घोषणा गर्न थालेका छन्। अघिल्ला वर्षहरूमा कोरोना महामारी र मन्दीका कारण लाभांश वितरण गर्न नसकेका कम्पनीहरूले यस वर्ष थोरै धेरै लाभांश घोषणा गर्न थालेका छन्।
हालसम्म ११० भन्दा बढी कम्पनीले लाभांश घोषणा गरिसकेका छन्, जसमा २५ वटा कम्पनी नेप्सेमा सूचीकृत रहेका छन्। नेप्सेमा सूचीकृत कम्पनीहरूको लाभांश घोषणाले दोस्रो बजारको कारोबारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
बजार विश्लेषकहरूको भनाइमा, चाडपर्वपछि लगानीकर्ताको सक्रियता बढ्ने र लाभांश घोषणाका कारण बजारले उर्ध्वमुखी लय समात्ने सम्भावना देखिएको छ।




.gif)





