काठमाडौँ । कात्तिक ४, तिहार सुरु भएसँगै धरानको मुख्य बजार भानुचोकदेखि पुरानो बजार क्षेत्रसम्मको सडकपेटी उज्यालो र चहलपहलले जीवन्त बनेको छ। बिहानदेखि बेलुकासम्म उपभोक्ताको घुइँचो लाग्ने बजारमा साना व्यापारीहरूले दिनरात परिश्रम गर्दै व्यापार गरिरहेका छन्।
धरान उपमहानगरपालिका–२ का बिक्की दास बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म किसमिस, नरिवल, मिठाइ, अबिर र झिलिमिली बत्तीको व्यापार गर्दै आइरहेका छन्। “बिहान र साँझ ग्राहक बढी आउँछन्। दिउँसो गर्मीका कारण भीड अलि कम हुन्छ,” उनले भने, “अहिले दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ।”
मूल सडकपेटीमा सयौँ साना व्यापारीले दियो, पूजाका सामग्री, माटाका पाला, रङ, मिठाइ तथा फूलमालाको व्यापार गर्दै गर्दा बजार झनै रङ्गीन देखिएको छ।
बिजुली बत्ती व्यापारी निरज कोइरालाका अनुसार परम्परागत दियोभन्दा आधुनिक झिलिमिली बत्तीप्रति ग्राहकको आकर्षण बढेको छ। “तिहारको समयमा विशेष गरी इलेक्ट्रिक बत्तीको माग उच्च हुने भएकाले बिक्री पनि निकै बढेको छ,” कोइरालाले बताए।
धरानका भानुचोक, सब्जी मन्दिर र पुरानो बजार क्षेत्र लगायत स्थानमा तिहारका लागि आवश्यक सामग्री किन्ने र बेच्ने दुवैको चाप उच्च देखिएको छ। व्यापारीहरूले तिहार सुरु हुनुभन्दा केही महिनाअघि नै झिलिमिली बत्ती र पूजाका सामग्री भित्र्याइसकेका छन्।
सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठका अनुसार तिहारजस्तो ठूलो पर्वमा साना व्यापारीहरूको व्यस्तता बढ्नु अर्थतन्त्रका लागि सकारात्मक संकेत हो। “व्यापारीहरू बिहानदेखि बेलुकासम्म पसल सञ्चालन गरेर मनग्य आम्दानी जुटाइरहेका छन्,” श्रेष्ठले बताए।
तर, भीडभाड र सडक व्यवस्थापन भने सबैभन्दा ठूलो चुनौती बनेको छ। “कहिलेकाहीँ ग्राहकको अत्यधिक चापले सडक आवागमनमै समस्या आउँछ,” श्रेष्ठले भने, “यसलाई व्यवस्थित गर्न प्रशासन सँग समन्वय गर्दै सुरक्षाका उपायहरू अवलम्बन गरिएको छ।”
व्यापारीका लागि व्यवसाय वृद्धि तालिम, सहुलियतपूर्ण कार्यक्रम र बजार प्रचारप्रसारमा सङ्घ सक्रिय रहेको पनि श्रेष्ठले जानकारी दिए। तिहारका अवसरमा साना व्यापारीहरूले गरेको मेहनत र ग्राहकको उत्साहले धरानको बजारलाई अझै जीवन्त बनाएको छ।




.gif)





