काठमाडौँ । यस वर्ष बागलुङ जिल्लामा कुल एक अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको आलु उत्पादन भएको छ। जिल्लाका किसानहरूले बर्खे र हिउँदे दुई याममा आलुखेती गर्दै आएका छन्, जसमा बर्खे आलुको उत्पादन बढी हुने गरेको छ।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार चालु वर्ष २,८६० हेक्टर क्षेत्रफलमा आलु लगाइएको थियो, जहाँबाट ५५,६०० मेट्रिकटन आलु उत्पादन भएको हो। अघिल्लो वर्ष ३,७०० हेक्टर क्षेत्रमा खेती गरिएको थियो, जसबाट ५६,२४० मेट्रिकटन आलु उत्पादन भएको थियो। यस अनुसार खेती क्षेत्र ८४० हेक्टरले घटेको छ भने उत्पादनमा पनि केही गिरावट आएको छ।
सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार किसानहरूले उत्पादन गरेको आलु यस वर्ष प्रतिकिलो ३५ रुपैयाँमा बिक्री गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा कम हो। गत वर्ष हिउँदे आलुको मूल्य प्रतिकिलो ४० र बर्खे आलुको मूल्य ५० रुपैयाँ थियो। मूल्यमा आएको गिरावट र लामो समय खडेरी परेकोले उत्पादनमा कमी आएको अधिकारीले बताए।
जिल्लाको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला, ढोरपाटन र गलकोट नगरपालिका लगायतका क्षेत्र आलु उत्पादनका लागि उपयुक्त मानिन्छन्। यी क्षेत्रमा उत्पादित आलु बागलुङ, बुटवल, चितवन लगायतका सहरहरूमा बिक्री हुने गर्छ।
कृषि ज्ञान केन्द्रले विगत तीन वर्षदेखि आलुखेतीमा क्षेत्र विस्तार र उत्पादन वृद्धि गर्ने काम गरिरहेको छ। आर्थिक वर्ष २०८०।८१ मा २ करोड ६० लाख, २०८१।८२ मा १ करोड ५९ लाख र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार रुपैयाँ खर्च गरी नयाँ क्षेत्र विस्तार गरिएको छ। चालु वर्षमा थप ४३ हेक्टर क्षेत्रमा खायन आलु खेती गर्ने लक्ष्य रहेको छ।
अधिकारीका अनुसार, “बागलुङको माथिल्लो क्षेत्र आलु उत्पादनका लागि उपयुक्त हावापानी भएकोले राम्रो उत्पादन हुँदै आएको छ। नयाँ प्रविधि, मलखाद र सिँचाइ व्यवस्थापन मार्फत उन्नत जातको बीउ प्रयोग गरी उत्पादकत्व वृद्धि गर्ने हाम्रो योजना छ।”




.gif)





