काठमाडौँ । भदौ २७, देशको पछिल्लो अस्थिर राजनीतिक र आर्थिक अवस्थालाई मध्यनजर गर्दै पूँजीबजार सँग सम्बन्धित तीन प्रमुख लगानीकर्ता संगठनले सेयरबजार अस्थायी रूपमा बन्द गर्न माग गरेका छन्।
सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै सरोकारवाला निकाय र नियामक निकायहरूलाई बजार बन्द गर्न औपचारिक अनुरोध गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “देशको हालको परिस्थितिले आम नागरिकसँगै लगानीकर्ताको मनोबलमा गम्भीर असर पारेको छ। यस्तो विषम अवस्थामा पूँजीबजार स्वाभाविक रूपमा बढी प्रभावित हुने हुँदा बजारको स्थायित्व र लगानीकर्ताको सुरक्षालाई ध्यानमा राखी सेयरबजार अस्थायी कालका लागि बन्द गर्न आवश्यक छ।”
उनीहरूले धितोपत्र बजारको प्रकृति अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै, साना संकेत वा अप्रत्याशित समाचारले बजारमा ठूलो उतारचढाव ल्याउने अवस्था रहेको जनाएका छन्। यस्तो मनोवैज्ञानिक दबाबका कारण विवेकपूर्ण लगानी निर्णय लिन कठिन भएकाले विशेषगरी साना तथा नयाँ लगानीकर्तालाई अपूरणीय क्षति पुग्ने जोखिम उच्च रहेको उनीहरूको तर्क छ।
संघहरूले वर्तमान परिस्थितिमा सेयर कारोबार अस्थायी रूपमा स्थगन गर्नु नै बजारलाई दीर्घकालीन क्षति हुनबाट जोगाउने एकमात्र यथोचित उपाय भएको दाबी गरेका छन्। उनीहरूले राजनीतिक स्थिरता पुनःस्थापना भई आर्थिक गतिविधिहरू सहज भएपछि मात्र सेयर कारोबार पुनः सञ्चालन गर्न सुझाव दिएका छन्।
यसैबीच, उनीहरूले विगतमा लगानीकर्ताहरूले उठाउँदै आएका विभिन्न सुधारका बुँदाहरूलाई समेत छिटो कार्यान्वयन गर्न धितोपत्र बोर्डलाई आग्रह गरेका छन्।





.gif)





