काठमाडौँ । भदौ २६, पछिल्लो समय देशको राजनीतिक अवस्था अस्थिर भइरहेका बेला पुँजी बजारका पाँच ठूला संगठनले नेपाल धितोपत्र बोर्डलाई सेयर कारोबार अस्थायी रूपमा स्थगित गर्न माग गरेका छन्। उनीहरूले आम लगानीकर्ताको भावना, साना लगानीकर्तामाथि पर्न सक्ने सम्भावित असर र बजारको दीर्घकालीन स्थायित्वलाई ध्यानमा राख्दै यस्तो माग गरेका हुन्।
नेपाल धितोपत्र बोर्डलाई लेखिएको संयुक्त पत्रमा संगठनहरूले भनेका छन्, यही विषम परिस्थितिलाई मध्यनजर गर्दै आम लगानीकर्ताहरूको भावना र पूँजीबजारको बृहत्तर हितका लागि यो पत्र लेख्न हामी बाध्य भएका छौं। बजारमा अनावश्यक बिक्री चाप (पेनिक सेलिङ) सिर्जना भई समग्र पूँजीबजार नै धराशायी हुने जोखिम बढेको छ। यसले विशेषगरी साना र नयाँ लगानीकर्ताहरूलाई अपूरणीय क्षति पुर्याउन सक्छ।
तसर्थ, बजारको स्थायित्व र लाखौं लगानीकर्ताको हित संरक्षणलाई ध्यानमा राखी केही समयका लागि कारोबार बन्द गर्नु नै अहिलेको लागि विवेकपूर्ण विकल्प भएको उनीहरूको भनाइ छ।
संगठनहरूले लगानीकर्ताहरूले उठाएका मागहरू पूरा गर्न नेपाल धितोपत्र बोर्डले द्रुत गतिमा काम अघि बढाउनुपर्ने पनि जोड दिएका छन्।
सेयर कारोबार स्थगित गर्न माग गर्नेमा निम्न संगठनका प्रतिनिधिहरू रहेका छन्ः
नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठ
नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रशाश रजौरे
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे
जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दीपक कार्की
बोर्डले यसबारे कस्तो निर्णय लिन्छ भन्ने विषयमा अहिले लगानीकर्ताहरूको नजर केन्द्रित भएको छ।




.gif)





