काठमाडौँ । भदौ २५, सागर डिष्टिलरी लिमिटेडले आज (भदौ २५ गते) देखि सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले बुधबार एक सूचना जारी गर्दै हाल देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै आईपीओ निष्काशन प्रक्रिया स्थगित गरिएको जानकारी दिएको हो। हालको अनिश्चित परिस्थितिका कारण लगानीकर्ता तथा सरोकारवालाको हितलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
सागर डिष्टिलरीले ७२ करोड ६० लाख रुपैयाँ बराबरको जारी पूँजीको २० प्रतिशत, अर्थात् १४ करोड ५२ लाख रुपैयाँ बराबरका १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरिसकेको थियो।
यसअन्तर्गत, कुल आईपीओ मध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन भई बाँडफाँट भइसकेको छ। यस्तै, ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको थियो।
अब बाँकी रहेका ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागिएको भए पनि, अहिलेका लागि उक्त प्रक्रिया अनिश्चितकालका लागि रोकिएको छ।
कम्पनीले नयाँ निष्काशन मिति र प्रक्रिया सम्बन्धी सूचना उचित समयमा सार्वजनिक गर्ने बताइएको छ।




.gif)





