काठमाडौँ । भदौ १८, मङ्गलबार नेपालका विभिन्न तीन जिल्लामा ४ म्याग्निच्यूड आसपासका भूकम्पका धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, सिन्धुपाल्चोक, गोरखा र दोलखामा क्रमशः रात, विहान र दिउँसो भूकम्पका झट्का महसुस गरिएको हो।
राति ११ः२३ बजे, सिन्धुपाल्चोकको तारामराङ आसपासलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो। यसको कम्पन सिन्धुपाल्चोक सहित आसपासका जिल्लामा समेत अनुभव गरिएको थियो।
यसअघि विहान ६ः१५ बजे, गोरखा जिल्लाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।
त्यसपछि दिउँसो ३ः१३ बजे, दोलखा जिल्लाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको अर्को भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
हालसम्म ती भूकम्पहरूले मानवीय वा भौतिक क्षतिको खबर भने आएको छैन। तर, भूकम्पीय गतिविधि एकैदिन तीनपटक महसुस भएसँगै स्थानीयवासीहरू बीच चिन्ता बढेको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले आगामी दिनमा पनि सर्तकता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




.gif)





