काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका–१२ स्थित बाँसडोलको माथिल्लो भागमा रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय स्थानीय तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। हरियालीले भरिएको शान्त वातावरण, मनोरम दृश्य, र धार्मिक महत्व बोकेको यो स्थान अहिले टिकटक भिडियो र सामाजिक सञ्जालका माध्यमबाट चर्चित बन्दै गएको छ।
काठमाडौं बानेश्वरमा अध्ययनरत विकास यादव भन्छन्, “टिकटकमा देखिएको दृश्य झनै वास्तविकतामा मनमोहक लाग्यो। कलेज बिदा पारेर साथी सँग घुम्न आएको हुँ।” यसरी, भिडिओले तानिएका युवायुवतीको यहाँ आउन क्रम बढिरहेको छ।
स्थानकै नजिकका गणेश तामाङ पनि प्राकृतिक सौन्दर्यले आकर्षित भएका छन्। “डाँडा सम्म चढेर हेर्दा झन रमाइलो लाग्छ”, उनले भने। शम्भु कुँवर, स्थानीय बासिन्दा, भन्छन् – जन्तीढुङ्गा धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ। किंवदन्ती अनुसार, भगवान बेथानचोक नारायण र पञ्चकन्या देवीको विवाहको प्रसङ्ग अधुरो हुँदा जन्ती शिला बनेर बस्न पुगेका थिए भन्ने कथन छ। यही कथनले यो ठाउँलाई ‘जन्तीढुङ्गा’ नाम दिएको हो।
हाल यस स्थानमा सिँढी, बुद्ध प्रतिमा, र अन्य संरचना निर्माणका योजना अगाडि बढाइँदैछ। वडा कार्यालयले माथिल्लो समथर भागमा बुद्धको प्रतिमा बनाउने योजना अघि सारेको छ।
घुम्न आउनेको संख्या सँगै स्थानीयले पसल सञ्चालन गरेर आम्दानी गर्न थालेका छन्। पनौती नगरपालिका–४ की देवीमाया खत्रीले दैनिक रु १५०० देखि ५००० सम्मको व्यापार हुने गरेको बताएकी छन्।
पहुच मार्गः बनेपाबाट जनगाल, भैंसेपाटी, बाँसडोल हुँदै बुढागणेश मन्दिर पार गरेर करिब ९ किलोमिटर यात्रा गरेपछि जन्तीढुङ्गा पुग्न सकिन्छ।अर्को विकल्पको रूपमा पनौती बसपार्क हुँदै चामखर मार्ग पनि प्रयोग गर्न सकिन्छ।
जन्तीढुङ्गा अहिलेको समयमा केवल प्राकृतिक सौन्दर्यकै लागि होइन, धार्मिक–ऐतिहासिक महत्वका साथै आर्थिक सम्भावना बोकेको पर्यटकीय स्थल बन्दै गएको छ।




.gif)





