काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा (२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्म) वैदेशिक रोजगारीका क्रममा सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु भएको छ । “गतवर्ष वैदेशिक रोजगारीमा मृत्यु भएका एक हजार ५१७ जनाका परिवारलाई आर्थिक सहयाता उपलब्ध गराएका छौं,” वैदेशिक रोजगार बोर्ड सचिवालयका प्रवक्ता गुरुदत्त सुवेदीले भने । वर्ष यति ठूलो संख्यामा वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु यसअघि भएको थिएन । वैदेशिक रोजगारीका क्रममा एक वर्ष सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु आर्थिक वर्ष २०७८/७९ मा भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा १ हजार ४७९ जना नेपालीको मृत्यु भएको थियो । बोर्डको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा दैनिक औसतमा ४.१५ जना नेपालीको मृत्यु हुने गरेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको संख्या १२.७० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ३४६ नेपालीले ज्यान गुमाएका थिए । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष १७१ जना बढीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हाजर २६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो तथ्याङ्कले दैनिक औसतमा २३ सय नेपाली रोजगारी खोज्दै विदेश जाने गरेको देखाउँछ भने दैनिक औसतमा चार जनाभन्दा बढी नेपालीको ज्यान विदेशी भूमिमा जाने गरेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मृत्यु हुनेको संख्यामा पनि पछिल्ला वर्षहरुमा बढ्दो छ । बोर्डको तथ्याङ्कअनुसार बितेको १७ वर्षमा वैदेशिक रोजगारीमा गएकामध्ये १४ हजार ८१६ जनाको मृत्यु रोजगारीका क्रममा भएको छ । आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ सम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।
बोर्डका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०६५/६६ मा ७८ जना, २०६६/७७ मा ४२१ जना, २०६७/६८ मा ५६४ जना, २०६८/६९ मा ६४७ जना, २०६९/७० मा ७७२ जना, २०७०/७१ मा ८७७ जना, २०७१/७२ मा १ हजार ६ जना २०७२/७३ मा ८२६ जना नेपालीको मृत्यु भएको थियो । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७५८ जना, २०७४/७५ मा ८२६ जना, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२ जना, २०७७/७८ मा १ हजार २४३ जना, २०७८/७९ मा १ हजार ४७९ जना, २०७९/८० मा १ हजार २१ जना, २०८०/८१ मा १ हजार ३४६ जना र २०८१/८२ मा १ हजार ५४६ जनाको वैदेशिका रोजगारीका क्रममा मृत्यु भएको बोर्डको तथ्याङ्कले देखाउँछ ।
मृतकको परिवारलाई एक अर्बभन्दा बढी आर्थिक सहायता
वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई एक अर्ब रुपैयाँभन्दा बढी रकम आर्थिक सहायता दिएको छ ।“गत आर्थिक वर्ष मृतक कादमारका परिवारलाई आर्थिक सहायता स्वरुप १ अर्ब २ करोड ३४ लाख रुपैयाँ दिइएको छ,” बोर्डका प्रवक्ता सुवेदी बताए । उक्त आर्थिक सहायता मृत्यु भएका १ हजार ५१७ जनाको परिवारलाई उपलब्ध गरिएको हो । गत आार्थिक वर्ष बोर्डले वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा गम्भीर बिरामी भएका ८६७ जनालाई आर्थिक सहायता स्वरुप २४ करोड ९९ लाख रुपैयाँ उपलब्ध गरिएको जानकारी प्रवक्ता सुवेदीले दिए ।गत आर्थिक वर्ष २०८१/८२ मा नै विदेशबाट ४८१ वटा शव झिकाउने क्रममा ३ करोड २५ लाख रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार, शव ढुवानी गर्ने क्रममा गत आर्थिक वर्ष ३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ ।




.gif)





