काठमाडौंः २२ असार, । पिपुल्स पावर लिमिटेडले आइतवार देखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता रू १०० अंकित मूल्यका दरले ६३ लाख २६ हजार कित्ता हकप्रद शेयर जारी गरेको हो । जसअनुसार शेयरधनीले १ कित्ता बराबर ०.५० कित्ता हकप्रद पाउनेछन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको हो। यस प्रयोजनका लागि कम्पनीले असार २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। त्यस अनुसार असार १ गते सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम रहेका शेयरधनीहरू मात्र यो हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।
हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम मिति साउन ११ गते सम्म तोकिएको छ। यस निष्कासनको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । जुन मध्यम जोखिम जनाउने सूचक हो।
पिपुल्स पावर लिमिटेडको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले प्रभु क्यापिटल, पिपुल्स पावरको वेबसाइट, प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत, धनगढी शाखा कार्यालयहरू तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्। साथै, ूमेरो शेयरू अनलाइन प्रणालीबाट समेत आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले यो पूँजी वृद्धिसँगै परियोजना विस्तार तथा वित्तीय सुदृढिकरणमा टेवा पुग्ने विश्वास लिएको छ।




.gif)





