images

२०८३ मंसिर १२ गते

images
images
images
  • उर्जा
  • निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा...

निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • म्याग्दी, ११ मङ्सिर । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ ।

    images
    images

    पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण डेढ दशकपछि सम्पन्न हुन लागेको हो ।

    म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको यस आयोजनाको परीक्षण अवधि पूरा गरेर व्यावसायिक उत्पादन थालिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताएका छन् ।

    images
    images

    “म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युतगृह परिसरमा असोज ११ गते कालीगण्डकीको बाढीले कटान गरेर क्षति पुर्‍याएपछि असोज ६ गतेदेखि सुरु भएको आयोजनाको परीक्षण अवधि लम्बिएको हो”, उनले भने, “प्राकृतिक विपत्ति, कोभिड–१९, भन्सार प्रक्रियाको समस्या, अन्तरराष्ट्रिय युद्धको असर, कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खननमा लगाइएको रोकलगायत कारणले आयोजना निर्माणमा ढिलाइ भएको हो ।” 

    रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी रहेका छन् । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–सडक छेउमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा विद्युतगृह रहेको छ । आयोजनाको छ किलोमिटर २७० मिटर लामो सुरुङ निर्माण भएको छ ।

    तिल्केनीचौरदेखि घुमाउनेताल, पिप्ले, मौवाफाँट, बुग्ल हुँदै बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण र राहुघाटमा एकवटा बेलिब्रिज निर्माण भएको आयोजना प्रमुख राजबहादुर विष्टले बताएका छन् । विद्युतगृह परिसरमा स्वीचयार्ड र कालीगण्डकी करीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोड्न चारवटा टावर र प्रसारण लाइन निर्माण भएको छ ।

    यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरेको थियो । भारतको वाकफोस राहुघाटको परामर्शदाता कम्पनी हो ।  

    राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले भारतीय निर्माण कम्पनी आइभीआरसीएल सँग २०६७ कात्तिक १८ गते रु दुई अर्ब ५० करोडमा सिभिल ठेक्का सम्झौता गरेको थियो । आइभिआरसीएलले सम्झौताअनुसार काम गरेको भए क्षमताको राहुघाटले २०७० सालमै विद्युत् उत्पादन सुरु गर्ने थियो । 

    कमजोर आर्थिक अवस्थाका कारण काम गर्न नसकेपछि विद्युत् प्राधिकरणले २०७२ सालमा आइभीआरसीएल सँगको ठेक्का रद्द गर्‍यो । ठेक्का तोडिँदा पाँच वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति १२ प्रतिशतमा सीमित थियो । 

    प्राधिकरणले आयोजना पुनर्संरचना गरी क्षमता ३२ मेगावाटबाट बढाएर ४० मेगावाट बनाउने र कम्पनी मोडेलमा निर्माण अघि बढाउने निर्णय भयो । आइभीआरसीएलको ठेक्का रद्द भएपछि प्राधिकरणले २०७३ सालमा सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी आयोजना अघि बढायो । 

    भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट ९इपिसी० प्रारूपमा राहुघाट निर्माण गर्ने प्रक्रिया अघि बढाइएको हो । 

    नयाँ प्रक्रियाबाट छनोट भएको सिभिल ठेकेदार भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७४ साल मङ्सिर ६ गते करिब रु छ अर्बमा ठेक्का सम्झौता भएको थियो ।  विसं २०७५ असारदेखि पहुँचमार्ग र २०७६ असार ८ गतेदेखि पिप्लेस्थित तेस्रो नम्बरको अडिटबाट सुरुङ निर्माण सुरु गरेको थियो । विसं २०८१ साउन १५ गते राहुघाटको मुख्य सुरुङ जोडिएको थियो ।

    सन् २०२२ फेब्रुअरीमा पहिलो, सन् २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो । चौथोपटक थपिएको समयभित्र आयोजना सम्पन्न भएको हो । भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ साल कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो । भेल भारत सरकारको स्वामित्वको कम्पनी हो । 

    म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा पहिले र सरकारी लगानीमा सञ्चालन भएको राहुघाटलाई जलविद्युत् विकासको ‘गेटवे’ (प्रवेशबिन्दु) मानिएको थियो ।

    “राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेका छन्”, उनले भने, “ढिलै भए पनि डेढ दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेकामा उत्साही भएका छौँ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend