पोखरा । कास्कीमा दर्जनौँ जलविद्युत कम्पनी सञ्चालनमा छन् । कतिपयले विद्युत् उत्पादन गरेर बिक्री थालिसकेका छन् भने कतिपय निर्माणको चरणमा छन् । अझै दर्जनौँ हाइड्रोपावर प्रारम्भिक अवस्थामै छन् । अहिले यहाँका हाइड्रोपावरले नदीमा नियमअनुसार पानी नछोड्दा जलचरलाई असर परेकोदेखि स्थानीय सरोकारवालालाई पर्याप्त लाभ दिन नसकेको गुनासो छ ।गुनासो बढ्दै गएपछि जिल्ला समन्वय समिति कास्कीले जलविद्युत् क्षेत्रका समस्या र सरोकारका विषयमा अन्तरक्रिया गरेको छ । सोही क्रममा जिसस प्रमुख लिलाधर पौडेलले हाइड्रोपावरहरू नेपालको जलविद्युत् विकास र जलस्रोतको उच्चतम उपयोगमा महत्त्वपूर्ण भएको बताए । तर, वातावरण संरक्षणमुखी उपयोग नीति अवलम्बन नगरेको गुनासो बढेको भन्दै त्यसलाई सुधार्न निर्देशन दिए ।
जुनसुकै विकास आयोजना पनि वातावरण र जनमुखी हुनुपर्ने उनको भनाइ छ । ‘आयोजनाहरूको दीर्घकालीन स्थायित्व र पूर्ण प्रतिफलका लागि सरोकारवालाहरू विद्यमान नियम, कानुन र संवैधानिक व्यवस्थाप्रति पूर्ण उत्तरदायी र जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘जलविद्युत् आयोजनाले प्राकृतिक स्रोतसाधन र जनजीवनमा पार्ने प्रतिकूल अवस्थाबारे सम्झौताबमोजिम सञ्चालन नभएको गुनासो छ, सुधार गर्नुस् ।’उनले वातावरणीय प्रभाव मूल्याङ्कन नगरेको, सोको पूर्ण पालनामा अग्रसर नभएको, स्वीकृतिबिना रूख कटान हुने गरेको र वातावरण संरक्षण योजनाको कार्यान्वयनमा चुनौती देखिएको बताए ।‘अहिले देखिएका लापरबाहीबारे जनगुनासो आएको छ,’ उनले थपे, ‘त्यस खालका गुनासा तत्काल न्यूनीकरणसहित निराकरण गर्न अनुरोध गर्दछु ।’ विधिपूर्वक नचले कारबाही अगाडि बढाउने उनको चेतावनी छ ।
गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका इन्जिनियर जीवन श्रेष्ठले जलविद्युत्सम्बन्धी संवैधानिक व्यवस्था, आयोजना वर्गीकरणका आधार र मापदण्ड तथा जल विकास गुरुयोजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा सम्बन्धित पालिका अध्यक्षहरूले पनि जलविद्युत् विकासको प्रमुख पाटो भए पनि वातावरण र जनजीविकाका सवालमा जिम्मेवार हुन नसकेको भन्दै प्रश्न गरेका थिए ।




.gif)





.gif)
