images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • काँक्रा बिक्री गरेर ३० लाख आम्दानी...

काँक्रा बिक्री गरेर ३० लाख आम्दानी !

काँक्रा बिक्री गरेर ३० लाख आम्दानी !

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • काठमाडौँ। देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि गर्नुभएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–५ खज्र्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसा सुरू गर्नुभएको हो । खज्र्याङको ४५ रोपनी जग्गामा उहाँले काँक्रा, लौका, तोराय, फर्सी, खुर्सानीलगायत तरकारी लगाउनुभएको छ । खुकुरापालनसँगै मासु व्यवसायसमेत गरेका भण्डारीको मुख्य उत्पादन काँक्रा हो । 

    images
    images

    विसं २०७२ मा ‘घरेलु तथा साना उद्योग विकास कार्यालय’मा ‘पूर्णिमा कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरेर व्यवसाय सुरू गर्नुभएका भण्डारीले गत मात्रै रु सात लाखको काँक्रा बिक्री गर्नुभयो । सुरूआती चरणमा थोरैथोरै उत्पादन गरे पनि अहिले व्यवसाय फस्टाएको भण्डारी बताउनुहुन्छ । “गतवर्ष दुई हजार बोटमा फलेका काँक्राबाट रु सात लाख आम्दानी भयो,” उहाँले भन्नुभयो, “यो वर्ष १० हजार बिरूवा लगाएको छु, उत्पादन भएका सबै काँक्रा बिक्री हुँदा ३० लाख आम्दानी हुन्छ ।” दुई वर्ष अगाडिसम्म काँक्राको मूल्य प्रतिकेजी ४० रूपैँयासम्म रहेको थियो ।

    तर गत वर्ष मूल्य बढेर रु एक सय ४० सम्म पुग्यो । जसले गर्दा उहाँको आम्दानी पनि बढेको छ । गत वर्ष भएको आम्दानीबाट प्रेरित भएर यो वर्ष बिरूवा थपेको भण्डारीले बताउनुभयो । यो सिजनको लागि पनि काँक्रा तयार भइसकेका छन् । गत मङ्सिर ३० गते रोपेका काँक्रा चैत १० बाट बिक्री सुरू भएका थिए । अहिलेको सिजनमा मात्रै उहाँले तीन सय क्विन्टल काँक्रा बिक्री गरिसक्नुभएको छ । अहिले फलेका काँक्रा सके अहिले नै सबै बिक्री गर्ने, नभए पाकेका पहेँला काँक्रा दसैँ–तिहारको समयमा अचारको लागि बिक्री गर्ने उहाँले बताउनुभयो । 

    images
    images

    दसैँ–तिहारमा पनि बिक्री नभए बीउको लागि प्रयोग गर्ने भण्डारीको भनाइ छ । यो सिजनमा उनको एउटै बगैँचाबाट दैनिक १० क्विन्टलसम्म काँक्रा बिक्री भइरहेको छ । भण्डारीले काँक्रासँगै बेमौसमी मकै उत्पादन, कुखुरापालन र दुई पोखरीमा मत्स्यपालन पनि गर्नुभएको छ । उहाँले सबै व्यवसायबाट खर्च कटाउँदा पनि मासिक न्यूनतम एक लाख रूपैँया बचत हुने सुनाउनुभयो । अहिलेको गर्मी मौसम भएकोले काँक्रो अत्याधिक बिक्री भइरहेको छ । आगामी असार महिनासम्म काँक्रो बिक्री हुने सिजन छ । गर्मी सिजन सुरू भइसकेको हुँदा यस पटक बाहिरबाट जिल्लामा काँक्रो भित्रिसकेको छैन । जसले गर्दा बजारमा काँक्रोको माग अत्याधिक रहेको छ । काँक्रो खानाको साथसाथै विवाह, महोत्सव तथा पाठपूजाको समयमा पनि प्रयोग हुन्छ । भण्डारीले यस पटक चार सय क्विन्टल काँक्रो उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । उहाँले अहिले एक हजार बेमौसमी काँक्रोका थप बिरूवा लगाइसक्नुभएको छ । उहाँको काँक्रा स्थानीय बजारका साथसाथै तम्घास, पाल्पा, बुटबल र काठमाडौँसम्म पुग्ने गरेको छ ।

    उहाँलाई घरपरिवारको पनि पूर्ण साथ मिलेको छ । घर परिवारका चार जनाबाहेक थप चारजनालाई मासिक तलबमा रोजगारी समेत दिनुभएको छ ।  पछिल्लो समयमा गाउँमा किसानलाई बाँदर, बदेँल, दुम्सी जस्ता वन्यजन्तुले बालीनालीमा हानीनोक्सानी गर्दै गएको अवस्था छ । तर भण्डारीले भने उक्त समस्या नभएको हुँदा कृषि उत्पादन गर्न सहज भएको बताउनुहुन्छ । भण्डारीको लोभलाग्दो कृषि कर्मले जिल्लामा युवा शक्तिबाट किसानलाई थप हौसला मिलेको छ । “गर्न सके गाउँमै थुप्रै सम्भावना छन्,” भण्डारीले भन्नुभयो ।

    राज्यले टनेल दिएहुन्थ्यो

    काँक्रा बिक्री गरेर आम्दानी लिन जति सजिलो छ, उत्तिकै मेहनत उत्पादन गर्न पनि छ । वर्षा धेरै हुँदा र बिक्री नहुँदा उहाँले थुप्रै पटक घाटा पनि सहनुपर्‍यो । काँक्राको लागि टनेल आवश्यक पर्नेमा उहाँले भने खुल्ला चौरमा उत्पादन गर्दै आउनुभएको छ । वडा कार्यालयमा थुप्रै पटक टनेलको लागि आवेदन दिए पनि सहयोग नपाएको भण्डारीले सुनाउनुभयो । “थुप्रै पटक धाएँ, पाइन,” उहाँले भन्नुभयो, “मकै शत प्रतिशत, नभए ५० प्रतिशतसम्म अनुदानमा हाइटेक टनेल दिए उत्पादन अझ बढाउने थिएँ ।” टनेल नहुँदा वर्षाको कारणले गत मात्रै पाँच क्विन्टल काँक्रा नोक्सान नभएको उहाँले बताउनुभयो । सात लाखको काँक्रा बिक्री गरिसकेपछि थप पाँच क्विन्टल नोक्सान हुँदा धेरै मर्का नपरेको उहाँ बताउहुन्छ । “अब निरन्तर काँक्राखेती गर्ने हो, अरू पेसा सहायक हुन्,” भण्डारीले भन्नुभयो,“यसमा राज्यको तर्फबाट केही सहयोग भए आभारी हुने थिएँ ।”रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend