images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ...

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • मुस्ताङ, १९ असोज । दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडा च्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडा च्याङ्ग्राका बथान आइपुगेका छन् । 

    images
    images

    उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । आफ्ना पाँच सहकर्मी सहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिएका छन् ।

    डोल्पाबाट जोमसोम आइपुग्न रोकायालाई एक साताभन्दा बढी समय लागेको छ । उनले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएको जानकारी दिएका छन् । यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको उनको भनाइ छ ।

    images
    images

    डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ प्रस्थान गरेका रोकाया यही असोज १७ गते साँझ जोमसोम आइपुएका छन् । हाल भेडाच्याङ्ग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएको छ ।

    रोकायाका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो । भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा निकै कठिन भएको उनले बताएका छन् ।

    माथिल्लो डोल्पाका डोल्पो बुद्ध, से–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याएको रोकायाले बताएका छन् ।नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको उनको भनाइ छ ।

    डोल्पाबाट यसपटक करिब आठ हजारभन्दा बढी भेडा च्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको उनले जानकारी दिएका छन् । सेताम्मे हिउँ, अत्यधिक चिसो र जोखिमपूर्ण बाटो छिचोल्दै रोकायासहितको टोली च्याङ्ग्रा लिएर जोमसोम आइपुगेको हो । गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरेको रोकायाले बताएका छन् ।
     
    च्याङ्ग्रा व्यापारी शेरबहादुर रोकायाका अनुसार गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्याङ्ग्रा जोमसोम झरिरहेका छन् । गत वर्ष ११ हजार बढी च्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो । 

    बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने व्यापारी रोकायाले बताएका छन् । “हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ । दसैँका बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो”, उनले भने । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend