दमौली (तनहुँ), १६ असोज । तनहुँमा चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ । जिल्लामा चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यालयका अनुसार कार्यक्रम अन्तर्गत जिल्लामा तीन हजार ८०५ रोपनी क्षेत्रफलमा चैते धानखेती गरिएको छ । करिब ८८६ दशमलव ५६ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।
चैते धान प्रवर्द्धनका लागि रु ९५ लाख बजेट विनियोजन भएकामा रु ८७ लाख ९७ हजार खर्च भएको कार्यालय प्रमुख परशुराम अधिकारीले जानकारी दिएका छन् । कार्यक्रम मार्फत खेती विस्तारसँगै किसानलाई आवश्यक बीउ, कृषि सामग्री, यन्त्र उपकरण तथा सिँचाइ पूर्वाधारमा सहयोग गरिएको छ ।
चैते धानखेतीमा किसानको आकर्षण बढाउन कार्यालयले १३ वटा कृषक समूह तथा कृषि सहकारीलाई कृषि उत्पादन सामग्री तथा कृषि यन्त्र उपकरणमा अनुदान दिएको छ । कार्यक्रम अन्तर्गत पाँच हजार ३१६ किलोग्राम धानको बीउ उपलब्ध गराइएको छ ।
त्यस्तै किसानलाई दुईवटा मल्टिक्रप थ्रेसर, एक मिनीटिलर, तीन डिजिटल तराजु, १३ कम्बाइन मिल, छ स्प्रेयर र ३४१ वटा त्रिपाल उपलब्ध गराइएको छ । धान रोपाइँदेखि कटानी तथा प्रशोधनसम्म किसानलाई सहज हुने गरी यन्त्र उपकरणमा सहयोग गरिएको अधिकारीले बताएका छन् ।
चैते धानका लागि सिँचाइ सुविधा महत्त्वपूर्ण हुने भएकाले कार्यक्रम अन्तर्गत दुई हजार तीन मिटर पक्की सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो निर्माणपछि करिब १२ हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार भएको कार्यालय प्रमुख अधिकारीले बताएका छन् । कार्यक्रमबाट ५७६ जना किसान लाभान्वित भएका छन् । लाभान्वित मध्ये ३०१ महिला र २७५ पुरुष छन् ।
कार्यालयले चैते धानलाई वर्षे धानको विकल्पका रूपमा मात्र नभई किसानले एउटै खेतबाट थप उत्पादन लिन सक्ने अवसरका रूपमा प्रवर्द्धन गर्दै आएको छ । धानको क्षेत्र विस्तार, उन्नत बीउको प्रयोग, कृषि यान्त्रिकीकरण र सिँचाइ सुविधा विस्तारमार्फत उत्पादन बढाउने लक्ष्य राखिएको छ ।
कृषि विकास कार्यालयले आगामी दिनमा उक्त धानखेतीको सम्भावना भएका क्षेत्र पहिचान गरी कार्यक्रम विस्तार गर्ने जनाएको छ । चैते धानको उत्पादन बढाउन सके जिल्लाको समग्र धान उत्पादनमा वृद्धि हुनुका साथै किसानको आयआर्जनमा प्रत्यक्ष योगदान पुग्ने विश्वास गरिएको छ ।




.gif)





