ललितपुर, असोज १४ । विश्व स्कुल दूध दिवस–२०८३ को अवसरमा ललितपुर महानगरपालिका–११ स्थित श्री कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक दूधपान कार्यक्रम सम्पन्न भएको छ।
“Strong Bones, Strong Moves: Milk Matters for Sport and Growing Bodies!” भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसन केन्द्रीय कार्यालय र नेपाल डेरी एसोसिएसन बागमती प्रदेश कार्यसमितिको संयुक्त आयोजनामा कार्यक्रम भएको हो। नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ र अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत २०० विद्यार्थीलाई दूध सेवन गराइएको थियो।
कार्यक्रममार्फत विद्यार्थीलाई दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्व, नियमित सेवनको आवश्यकता, स्वस्थ खानपान तथा दैनिक जीवनमा दूधको उपयोगिताबारे जानकारी गराइएको थियो। साथै, दुग्ध क्षेत्रप्रति विद्यार्थीमा सकारात्मक धारणा विकास गर्ने उद्देश्यले विभिन्न विषयमा सचेतना प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेको अध्यक्षता तथा एन–प्याब्सनका महासचिव प्रतापबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक विदुर राई, अनुसन्धान शाखाका प्रमुख दीपेन्द्र अधिकारी, नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघका महासचिव श्रीकृष्ण भण्डारी, अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सका अध्यक्ष रमेश सञ्जेललगायत नेपाल डेरी एसोसिएसनका केन्द्रीय तथा बागमती प्रदेशका पदाधिकारी एवं सदस्यहरूको सहभागिता थियो।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाले एसोसिएसनले तयार गरेको प्रेस विज्ञप्ति वाचन गरेका थिए।
विद्यार्थीमा दूधको पौष्टिक महत्त्वबारे सचेतना
विद्यालयका प्रधानाध्यापक करुणा खड्कीले स्वागत मन्तव्य राख्दै विश्व स्कुल दूध दिवसको अवसरमा विद्यार्थीलाई दूध सेवन गराउनुका साथै दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयलाई कार्यक्रमस्थलका रूपमा छनोट गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरिन्।
उनले विद्यालय तथा विद्यार्थीलाई लक्षित गरी आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा विद्यार्थीलाई दूध सेवन गराउनुका साथै स्वस्थ खानपान, दूध तथा दुग्धजन्य पदार्थको पोषणसम्बन्धी पक्ष र दैनिक जीवनमा यसको उपयोगिताबारे जानकारी दिइएको थियो।
विद्यालय दूध कार्यक्रमलाई थप प्रभावकारी बनाउन जोड
नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले विश्व स्कुल दूध दिवस हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने जानकारी दिँदै सन् २००० मा पहिलोपटक मनाइएको यस दिवसले विद्यालयमा दूधको महत्त्वबारे ध्यानाकर्षण गराउने तथा विद्यालय दूध कार्यक्रम र बाल पोषणसम्बन्धी जनचेतना प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताए।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले नेपाल डेरी एसोसिएसनले सुरु गरेको विश्व स्कुल दूध दिवस मनाउने अभियान सान्दर्भिक रहेको उल्लेख गर्दै विद्यालय दूध कार्यक्रमलाई सरकारले समेत साथ दिनुपर्ने धारणा राखे।
राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक विदुर राईले नेपाल डेरी एसोसिएसनले आयोजना गरेको कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै यस्ता अभियानमा बोर्डको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि प्रतापबहादुर थापाले विद्यालय तहमा दूध तथा दुग्धजन्य पदार्थको पहुँच विस्तार गर्दै बाल पोषणसँगै किसानको उत्पादन, दुग्ध उद्योग र स्थानीय अर्थतन्त्रलाई जोड्नुपर्नेमा जोड दिए। विद्यालय दूध कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
बाल पोषणसँगै किसान र दुग्ध क्षेत्र जोड्ने लक्ष्य
कार्यक्रमका सभापति एवं नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले सहभागी तथा सहयोगी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालय तथा विद्यार्थी केन्द्रित यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
विश्व स्कुल दूध दिवसलाई बालबालिकामा दूधको पौष्टिक महत्त्वबारे चेतना अभिवृद्धि गर्ने अवसरका रूपमा मात्र नभई किसानले उत्पादन गरेको दूधको बजार विस्तार, दुग्ध सहकारी तथा उद्योगको प्रवर्द्धन र स्थानीय अर्थतन्त्रसँग जोड्ने माध्यमका रूपमा अघि बढाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो।
आयोजकका अनुसार विद्यालय तहमा दूध तथा दुग्धजन्य पदार्थको पहुँच विस्तार गर्न सके बाल पोषणसम्बन्धी सचेतना बढाउन सहयोग पुग्नुका साथै किसानको उत्पादनका लागि बजार सिर्जना र समग्र दुग्ध क्षेत्रको विकासमा समेत योगदान पुग्न सक्छ।




.gif)





