काठमाडौं । विश्व स्कुल दूध दिवस २०८३ को अवसरमा बालबालिकामा दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्वबारे सचेतना अभिवृद्धि गर्नुका साथै किसान, दुग्ध सहकारी, डेरी उद्योग र विद्यालयलाई एउटै मूल्य शृंखलामा जोड्ने अभियान अघि बढाइने भएको छ।
नेपाल डेरी एसोसिएसन केन्द्रीय समिति र नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको संयुक्त आयोजनामा तथा नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ र अप्टिमिस्ट क्लब डेरी इन्टरप्रेनर्सको सहकार्यमा ललितपुर महानगरपालिका–११ स्थित श्री कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम आयोजना हुँदैछ।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा बालक चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने एसोसिएसनले जनाएको छ।
हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने विश्व स्कुल दूध दिवस यस वर्ष सेप्टेम्बर ३० अर्थात् २०८३ असोज १४ गते बुधबार मनाइँदैछ। सन् २००० देखि मनाउन सुरु गरिएको यस दिवसको उद्देश्य विद्यालय तहमा दूधको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नु तथा विद्यालय दूध कार्यक्रमलाई प्रवर्द्धन गर्नु रहेको छ।
यस वर्ष दिवस “बलियो हड्डी, बलियो शरीरः खेलकुद र विकासका लागि दूध अमूल्य आधार” भन्ने नाराका साथ मनाइँदैछ।
बाल पोषण र स्वस्थ जीवनशैलीमा दूधको महत्त्व
बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि सन्तुलित आहार र पर्याप्त पोषण आवश्यक हुने एसोसिएसनले जनाएको छ। दूध तथा दुग्धजन्य पदार्थ प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ लगायतका पोषक तत्त्वका स्रोत भएकाले सन्तुलित आहारको महत्वपूर्ण हिस्सा बन्न सक्ने उसको भनाइ छ।
विद्यालय तहदेखि नै बालबालिका तथा अभिभावकलाई दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्व, स्वच्छ तथा सुरक्षित दूधको सेवन र स्वस्थ खानपानका विषयमा सचेत गराउन आवश्यक रहेको एसोसिएसनले जनाएको छ।
विश्व स्कुल दूध दिवस विद्यार्थीलाई दूध सेवन गराउने कार्यक्रममा मात्र सीमित नभई पोषण शिक्षा, स्वस्थ खानपानको बानी तथा विद्यालय र समुदायमा पोषणसम्बन्धी चेतना विस्तार गर्ने अवसरका रूपमा विकास गर्न सकिने बताइएको छ।
विश्वका विभिन्न देशमा यस अवसरमा विद्यालयमा दूध वितरण, पोषण शिक्षा, वक्तृत्व तथा चित्रकला प्रतियोगिता, किसान र विद्यार्थीबीच अन्तरक्रिया तथा डेरी उद्योग अवलोकनलगायतका कार्यक्रम आयोजना हुँदै आएका छन्।
किसानदेखि विद्यार्थीसम्म जोडिने दुग्ध मूल्य शृंखला
नेपालजस्तो कृषि तथा पशुपालनमा आधारित अर्थतन्त्र भएको मुलुकमा विद्यालय दूध कार्यक्रमलाई बाल पोषणमा मात्र सीमित नगरी किसान, दुग्ध सहकारी, दूध संकलन केन्द्र, डेरी उद्योग र विद्यालयलाई एउटै मूल्य शृंखलामा जोड्ने माध्यमका रूपमा विकास गर्न सकिने एसोसिएसनको धारणा छ।
किसानले उत्पादन गरेको दूधको बजार विस्तार हुँदा उत्पादन र आम्दानीमा सहयोग पुग्न सक्ने तथा स्थानीय दुग्ध उद्योगको उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने सम्भावना रहेको एसोसिएसनले जनाएको छ।
यस दृष्टिले विद्यालय दूध कार्यक्रमले बालबालिकाको पोषण, स्वदेशी उत्पादनको प्रवर्द्धन, किसानको बजार विस्तार र दुग्ध क्षेत्रको दिगो विकासलाई एकैसाथ जोड्न सक्ने बताइएको छ।
राष्ट्रिय विद्यालय दूध कार्यक्रम आवश्यक
नेपाल डेरी एसोसिएसनले विद्यालय तहमा दूध तथा दुग्धजन्य पदार्थको पहुँच विस्तार गर्दै राष्ट्रिय विद्यालय दूध कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक रहेको बताउँदै आएको छ।
यसका लागि संघीय, प्रदेश तथा स्थानीय सरकार, विद्यालय, किसान, दुग्ध सहकारी, डेरी उद्योग, शिक्षक, अभिभावक तथा सम्बन्धित संघसंस्थाबीच सहकार्य आवश्यक रहेको एसोसिएसनको भनाइ छ।
आवश्यक नीति, मापदण्ड, बजेट, गुणस्तर र अनुगमनको व्यवस्था गरी विद्यालय दूध कार्यक्रमलाई नियमित तथा दिगो रूपमा सञ्चालन गर्न सके बालबालिकाको पोषण सुधारसँगै किसानको दूधको बजार विस्तार र स्वदेशी दुग्ध क्षेत्रको विकासमा समेत योगदान पुग्न सक्ने एसोसिएसनले जनाएको छ।
दीर्घकालीन अभियानका रूपमा अघि बढाउन अपिल
विश्व स्कुल दूध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनले बालबालिकाको पोषण र स्वस्थ भविष्यका लागि दूध तथा दुग्धजन्य पदार्थको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ।
विद्यालय तहमा सुरक्षित र गुणस्तरीय दूधको पहुँच विस्तार गर्न संघीय, प्रदेश तथा स्थानीय सरकारसहित विद्यालय, शिक्षक, अभिभावक, किसान, दुग्ध सहकारी र डेरी उद्योगबीच सहकार्य आवश्यक रहेको एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अनुसार विश्व स्कुल दूध दिवस एक दिन दूध सेवन गराउने कार्यक्रममा मात्र सीमित नभई बालबालिकाको पोषण, किसानको उत्पादनको बजार, स्वदेशी दुग्ध उद्योगको प्रवर्द्धन तथा ग्रामीण अर्थतन्त्रलाई जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउन सकिन्छ।
“विद्यालयमा दूध, बालबालिकामा पोषणस किसानको उत्पादनमा बजार, देशको अर्थतन्त्रमा योगदान” भन्ने सन्देशसहित एसोसिएसनले विश्व स्कुल दूध दिवस २०८३ को अवसरमा विद्यार्थी, अभिभावक, शिक्षक, किसान, दुग्ध सहकारी, डेरी उद्योग तथा सम्बन्धित सबै सरोकारवालामा शुभकामना व्यक्त गरेको छ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे र नेपाल डेरी एसोसिएसन केन्द्रीय कार्यसमितिका अध्यक्ष प्रल्हाद दाहालले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो।




.gif)





