काठमाडौँ । डान्स तथा अभिनयमार्फत सामाजिक सञ्जालमा चर्चित शिक्षक होमराज पौडेल अब शिक्षणसँगै उद्यमशीलता र कृषि क्षेत्रमा पनि सक्रिय भएका छन् । उनले अन्य शिक्षक तथा शिक्षिकासँगको सहकार्यमा महालक्ष्मी नगरपालिका–३ मा ‘स्पाइस नेस्ट अचार उद्योग’ सञ्चालनमा ल्याएका छन् ।
स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना, महिलालाई उद्यमशील बनाउने तथा आयातमा निर्भरता घटाउने उद्देश्यले अचार उद्योग सञ्चालन गरिएको पौडेलले बताएका छन् । उनका अनुसार उद्योगमार्फत स्थानीयस्तरमा उत्पादित कृषि उपजको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
पौडेलले इच्छुक महिला दिदीबहिनीलाई अचार उत्पादन तथा व्यवसाय सञ्चालनसम्बन्धी तालिम र परामर्श उपलब्ध गराउने योजना समेत बनाएका छन् । स्थानीय स्रोतसाधनको प्रयोग गर्दै महिलालाई आयआर्जनसँग जोड्न सके परिवार र समाजको आर्थिक अवस्थामा सकारात्मक प्रभाव पार्न सकिने उनको विश्वास छ।
अचार उद्योगसँगै नर्सरी व्यवसाय
शिक्षण र अचार उद्योगसँगै पौडेलले इमाडोलको बोजेपोखरीमा ‘लक्ष्मी नर्सरी’ समेत सञ्चालनमा ल्याएका छन् । नर्सरीमा विभिन्न कृषि तथा बागवानीका बिरुवा, तरकारी तथा फलफूलका उन्नत प्रजाति उपलब्ध गराउने तयारी गरिएको छ।
नर्सरीमा नयाँ प्रजातिका बोटबिरुवाको अनुसन्धान तथा परीक्षण गर्दै स्थानीयस्तरमै गुणस्तरीय बिरुवा उत्पादन गर्ने लक्ष्यसमेत पौडेलले राखेका छन् । कृषि क्षेत्रमा आधुनिक प्रविधि र गुणस्तरीय बिरुवाको प्रयोग बढाउन सके उत्पादन तथा आम्दानी दुवै बढाउन सकिने उनको धारणा छ।
‘स्वस्थ समाजका लागि गुणस्तरीय खाद्य उत्पादन आवश्यक’
नेपालको पहिलो विश्वव्यापी परिकारसम्बन्धी शब्दकोश ‘फलाङ फुड डिक्सनरी’ का लेखक तथा अन्तर्राष्ट्रिय संवाददाता शिव न्यौपानेसँगको कुराकानीमा पौडेलले अर्गानिक फलफूल तथा गुणस्तरीय कृषि उत्पादन सार्वजनिक स्वास्थ्यका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
उनका अनुसार स्वस्थ जीवनशैलीका लागि मानिसले आफूले उपभोग गर्ने खाद्यवस्तुको उत्पादन प्रक्रिया, गुणस्तर र पोषणका विषयमा समेत सचेत हुन आवश्यक छ। खानाको गुणस्तरले मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले उत्पादनदेखि उपभोगसम्म जिम्मेवार अभ्यास आवश्यक रहेको उनको भनाइ छ।
पौडेलले कृषि उत्पादनलाई केवल व्यवसायका रूपमा नभई स्वस्थ जीवनशैली र सामाजिक जिम्मेवारीसँग जोडेर हेर्नुपर्नेमा समेत जोड दिएका छन् ।स्थानीयस्तरमा गुणस्तरीय फलफूल तथा तरकारी उत्पादन बढाउन सके उपभोक्ताले ताजा तथा पोषणयुक्त खाद्यवस्तु प्राप्त गर्न सक्ने उनको विश्वास छ।
‘पढाइसँगै उत्पादन र उद्यम’
शिक्षण पेसासँगै अचार उद्योग र नर्सरी सञ्चालनमा ल्याएर पौडेलले शिक्षा, उद्यमशीलता र कृषिलाई एउटै अभियानमा जोड्ने प्रयास गरेका छन् ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, महिलालाई उद्यमशीलतामा सहभागी गराउने तथा कृषि व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले अघि बढाइएको यो पहलले नयाँ पुस्तालाई ‘पढाइसँगै उत्पादन र उद्यम’ तर्फ प्रेरित गर्ने लक्ष्य बोकेको छ।
पौडेलका अनुसार युवापुस्ताले शिक्षा र सीपसँगै उत्पादन तथा उद्यमशीलतामा पनि ध्यान दिन आवश्यक छ। स्थानीय स्रोतसाधन र सीपको सदुपयोग गर्दै साना व्यवसाय सुरु गर्न सके रोजगारी सिर्जना र आत्मनिर्भरतातर्फ अघि बढ्न सहयोग पुग्ने उनको धारणा छ।
अचार उद्योग र नर्सरीमार्फत स्थानीय उत्पादन, कृषि तथा उद्यमशीलतालाई जोड्ने पौडेलको प्रयासले शिक्षण पेसाभन्दा बाहिर पनि सीप र सिर्जनशीलतालाई व्यावसायिक गतिविधिसँग जोड्न सकिने उदाहरण प्रस्तुत गरेको छ।




.gif)





