images

२०८३ आश्विन १६ गते

images
images
images

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • सुनसरी, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् ।

    images
    images

    बजारमा दैनिक रूपमा उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ । बिहीबार र शुक्रबार दुई दिन विशेष रूपमा खसीबोकाको बजार लाग्ने छ।

    धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन् । उनले घरमै खसीबोका पालेका छन् । यस्तै, धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका पनि बिक्री गर्ने गरेको उनले जानकारी दिएका छन् ।

    images
    images

    “व्यापार हो, कहिले नाफा हुन्छ, कहिले घाटा । यही व्यवसायबाट घरखर्च पुगेको छ । यहाँको खसी बजारको व्यवस्थापन राम्रो भएकाले व्यापार गर्न सहज भएको छ”, उनले भने। 

    मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का प्रत्येक साता खसीबोका खरिद गर्न धरान आउने गर्नुहुन्छ । उनले एकपटकमा १०० देखि १५० वटासम्म खसीबोका खरिदबिक्री गर्दै आएका छन् । उनले उक्त व्यवसाय थालेको २३ वर्ष भइसकेको बताएका छन् ।

    खड्काले धरानबाट खरिद गरेका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरा लगायत सहरमा बिक्री गर्ने गरेको बताएका छन् ।

    धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन् । दसैँ, तिहार जस्ता चाडपर्वको समयमा भने हप्तामा १० हजार बढी खसीबोका बिक्री हुने गरेको उनले जानकारी दिएका छन् ।

    आर्थिक वर्ष २०८२।८३ मा कृषि उपज बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब रु तीन अर्बको कारोबार भएको अध्यक्ष भट्टराईले उल्लेख गरेका छन् । गत वर्षको चाडपर्वमा मात्रै रु ४६ करोड बराबरको कारोबार भएको थियो । यस वर्ष कारोबार थप वृद्धि हुनसक्ने उनको भनाइ छ ।

    भट्टराईका अनुसार बजारमा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष खसीबोकाको कारोबार १५ प्रतिशतले वृद्धि भइसकेको छ । बजारमा पहाडी जिल्लाका साथै इटहरी, मोरङको कानेपोखरी र बेलबारी लगायत तराईका किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि आउने गएका छन् ।

    कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषि उपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा योगदान पुर्याएको अध्यक्ष भट्टराईले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend