images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • ७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल...

७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • धनकुटा । राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको सहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार भनिएको धनकुटा मुलुकमा व्यवस्था परिवर्तन हुनेक्रमसँगै बेहुली अन्माएको घरजस्तै बिरसिलो बन्दै गएको स्थानीयको अनुभूति सुनिन्छ । धनकुटाको विगतको त्यो विरासत र गर्विलो इतिहास अहिले नदेखिए पनि धनकुटा बजारको एकछेउमा रहेको सात दशकअघि खुलेको बिस्कुट उद्योगले भने पुराना दिनहरुलाई सम्झाउन छाडेको छैन । धनकुटाको जीवित इतिहासका रुपमा रहेको मोहन बिस्कुट उद्योगले ७३ वर्ष पहिलेदेखि अनवरतरुपमा उपभोक्तालाई स्थानीय स्वाद चखाउँदै आएको छ । यहाँको धनकुटे नरिवल बिस्कुटले जिल्लाको पहिचान स्थापना गर्ने मात्र होइन, यसको मौलिक स्वादले धेरैको मुख रसिलो बनाउँदै आएको छ ।

    images
    images

    प्रशासनिक काममा धनकुटा आउने धेरै सरकारी कर्मचारी र सेवाग्राहीले चिया पिउँदा होस् वा घर फर्किंदा लैजाने कोसेलीको रुपमा धनकुटे नरिवल बिस्कुट पहिलो रोजाइमा पर्छ । रैथाने खाद्यवस्तु भएकाले धनकुटा बजार पुग्ने जो कोही आगन्तुकले घर फर्कंदा कोसेली स्वरुप धनकुटे नरिवल बिस्कुट खरिद गर्न भुल्दैनन् । लोकसेवा आयोगको परीक्षा दिन धनकुटा पुगेकी एक युवती बसपार्कमा बिस्कुट किन्दै गरेको भेटिइन्। बिस्कुट झोलामा हाल्दै उनले भनिन्, “जतिपटक धनकुटा आएको छु, उतिनै पटक धनकुटे नरिवल बिस्कुट कोसेली लिएर गएकी छु । अन्य बिस्कुटभन्दा यसको स्वाद बेग्लै छ । स्थानीय उत्पादन भएकाले परिवार र साथीहरुले पनि खुब मन पराउँछन् । सबैले रुचाउने भएकाले यता आउँदा किनेर लैजान्छु ।”

    भारतको जोगवनीबाट सुरु हुने कोशी राजमार्ग धनकुटा बजार छिचोल्दै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्छ । यो राजमार्गमा दैनिक हजारौँ गाडी गुड्छन् । ती गाडीको एउटा स्टेसन हो, धनकुटा बसपार्क । ती गाडीमा यात्रा गर्ने यात्रुहरुको रोजाइ पनि धनकुटे नरिवल बिस्कुट पर्ने गर्छ । धनकुटा बसपार्कका सबैजसो पसलमा विभिन्न किसिमका धनकुटे बिस्कुट राखिएको हुन्छ । बसपार्कमा एकछिन गाडी रोकिएको बेलामा पनि यात्रुहरुको आँखा धनकुटे बिस्कुटमै पर्छ । आफन्त भेटघाटमा पनि सबैभन्दा सजिलो कोसेली भएकाले यात्रुहरुले किन्ने गरेको धनकुटा बसपार्कमा रहेको पाथीभरा होटलका सञ्चालक दुर्गा राईको भनाइ छ । 

    images
    images

    होटल, किराना र नाङ्ले पसलमा धनकुटे नरिवल बिस्कुट बिक्रीका लागि राखिएको हुन्छ । यसैबाट थाहा हुन्छ, धनकुटे नरिवल बिस्कुटको स्थानीय महत्व र बजारमा माग कति धेरै हुन्छ भन्ने। घरेलु प्रविधिबाट बन्ने धनकुटे नरिवल बिस्कुट कोसेली लैजान वा खाजाको रुपमा सबैको रोजाइमा पर्छ । धनकुटा सदरमुकामका ठूला बजारमा मात्र नभई गाउँका स–साना चिया पसलमा समेत यो बिस्कुटले स्थानीय ‘ब्रान्ड’को पहिचान बनाएको छ ।

    सदरमुकामस्थित मदनचोकमा रहेको कञ्चनजङ्घा होटलका सञ्चालक गोरख कटुवालको भनाइमा होटलमा आउने आगन्तुकले चियासँगै धनकुटे नरिवल बिस्कुट अनिवार्य रूपमा खोज्छन् । होटलमा बसिञ्जेल नियमित खाजाको रुपमा खान्छन् । अनि घर फर्किंदा कोसेलीको रुपमा किनेर लैजान्छन् । त्यसैले होटलमा अन्य खाद्य र पेय वस्तुसँगै धनकुटे नरिवल बिस्कुट राख्ने गरेको होटल सञ्चालक कटुवालले बताउनुभयो । “प्याकेजिङ हेर्दा खासै राम्रो र लोभलाग्दो देखिँदैन । खै के सारो मन पराएका हुन् । स्वाद मानीमानी खान्छन्”, कटुवालले सुनाए । विसं २००८ मा धनकुटा–४ निवासी स्व विश्वेश्वरमान श्रेष्ठले धनकुटे बिस्कुट बनाउन थालेका थिए । लामो अनुभवपछि स्व श्रेष्ठले नै २०३० सालमा घरेलु उद्योगमा मोहन बिस्कुट उद्योग दर्ता गराए। यो उद्योग अहिले पनि सञ्चालन भइरहेको छ । उनका छोरा मोहन श्रेष्ठले बुबाले थालनी गरेको धनकुटे नरिवल बिस्कुटको विरासतलाई निरन्तरता दिँदै आएका हुन् । 

    पहिले धनकुटामा एउटा मात्र मोहन बिस्कुट उद्योग भएकाले सुरुमा थोरै उत्पादन हुन्थ्यो । बजार पनि सानै थियो । तर बिस्कुट उद्योगमा काम सिकेका कामदारले आफैँ उद्योग खोल्न थालेपछि अहिले उद्योगहरु बढेका छन् । उत्पादन बढेको छ र धनकुटे नरिवल बिस्कुटको बजार पनि फैलिँदै गएको छ । धनकुटा नरिवल बिस्कुट धनकुटा बजारसँगै भेडेटार, मूलघाट, हिले, सिधुवा, पाख्रीबासलगायत धनकुटाका बजारमा सहजै खरीद गर्न सकिन्छ । 

    धनकुटा नरिवल बिस्कुटसँगै यहाँका उद्योगहरुले अहिले कोको, कुकिज, खास्ता, बदाम, डुनोट, फुलकेक, केकजस्ता १७ प्रकारका बिस्कुट उत्पादन गरिरहेका छन् । अहिले धनकुटाका विभिन्न स्थानमा बिस्कुट उत्पादन गर्ने एक दर्जनभन्दा बढी उद्योग सञ्चालनमा छन् । बजारमा यसको माग बढेसँगै उद्योग खुल्नेक्रम पनि झाँगिएको हो। सुरुवाती दिनमा मोहन बिस्कुट मात्रै सञ्चालनमा थियो । अहिले धनकुटा सदरमुकामसहित आँखिसल्ला, पाख्रिवास, हिले, मौनावुधुक, जीतपुर, पात्लेखोलालगायत स्थानमा बिस्कुट उद्योग सञ्चालनमा छन् । यी उद्योगहरुले नरिवल बिस्कुट, केक, पाउरोटीलगायत अन्य उत्पादन गरी वार्षिक रु एक करोडभन्दा बढीको बिस्कुट उत्पादन गरिरहेको अनुमान छ । करिब एक सय जनाभन्दा बढीलाई प्रत्यक्ष रूपमा रोजगारी मिलेको छ ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend