काठमाडौं । एकातिर देशको संघीय राजधानी काठमाडौं विभिन्न राजनीतिक दलहरुको आन्दोलनका कारण तातिएको छ भने अर्कोतिर यही चैत २२ गतेदेखि प्रदर्शनमा आउने नयाँ ‘वसन्त’ ले आफ्ना प्रचार–प्रसारलाई तिब्र बनाएको छ । फिल्मको नयाँ गीत ‘हेर्दै आँखामा’ बोलको गीत दर्शकमाझ आउन तयार भएको छ, जसका केही तस्विरहरु सार्वजनिक भएको छ । ती तस्विरमा फिल्मका अभिनेता प्रकाश सपुत तथा अभिनेत्री स्वस्तिमा खड्का रोमान्टिक देखिएका छन् ।
आइतवार सार्वजनिक हुने यो गीत भारतको गोवा तथा रसुवाको लाङटाङ क्षेत्रमा छायांकन गरिएको हो । फिल्मका यसअघि सार्वजनिक प्रचार सामाग्री गीत, संगीत, टीजर तथा ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गरेको छ । जसले गर्दा यो फिल्मलाई यस वर्षकै प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ । यो गीतमा गायक सुगम पोखरेल तथा गायिका समीक्षा अधिकारीले स्वर सुन्न सकिने छ ।फिल्मका निर्देशकसमेत रहेका अभिनेता सपुतको नै शब्द रचना तथा संगीत रहेको गीतमा योगेश काजी शाहको संगीत संयोजन छ ।
यो फिल्ममा भने प्रकाश र स्वस्तिमासंगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा यो फिल्मले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
यो फिल्मको छायांकन गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले फिल्मलाई वितरण गर्नेछन् ।




.gif)





