images

२०८३ आश्विन १८ गते

images
images
images

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका

images
images
शुक्रवार, माघ ११ २०८१
शुक्रवार, माघ ११ २०८१
  • पोखराः पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । यतिबेला पोखरा महानगरपालिकाले अहिले पोखरा भ्रमण वर्ष २०२५ लाई भव्य रुपमा मनाउने तयारी गरिरहेको छ ।

    images
    images

    महानगरको नीति तथा कार्यक्रममा समेटेको भ्रमण वर्षलाई यही जनवरी महिनाको अन्तिम या फेब्रुअरीमा औपचारिक कार्यक्रम गरेर अघि बढाउने तयारी गरिरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । 

    उनले पोखरा भ्रमण वर्षलाई सफल बनाउन विशेष तयारीमा साथ लागिपरेको बताए । ‘पोखरा भ्रमण वर्ष २०२५ हाम्रो महानगरको पर्यटन क्षेत्रको उन्नति र प्रवद्र्धनका लागि कोसेढुंगा साबित हुने विश्वाससहित हामीले गृहकार्य थालेका छौँ, सफल बनाउँछौँ,’ प्रमुख आचार्यले भने  । 

    images
    images

    उनले नेपालको पर्यटकीय राजधानीका रुपमा रहेको पोखरालाई उत्कृष्ट गन्तव्य बनाउनका लागि विभिन्न पर्यटकीय गतिविधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिएको बताए । ‘पोखराको पर्यटनलाई साँचो अर्थमा नयाँ उचाइमा पुर्याउनका लागि सबै पक्षको समन्वय र दीर्घकालीन दृष्टिकोण अपनाउनु पर्छ,’  आचार्यले भने । 

    उनले मित्रराष्ट्र चीनले आफ्ना नागरिकका लागि नेपाल भ्रमण वर्ष २०२५ घोषणा गरेको र यसले नेपालको पर्यटन प्रवद्र्धनमा ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो कदमले नेपाल र चीनबीचको मित्रता अझ सुमधुर बनाउनाका साथै पोखरा लगायत नेपालको पर्यटकीय गन्तव्यलाई विश्वव्यापी रुपमा चिनाउने अवसर प्रदान गरेको छ ।’

    नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्षका अवसरमा ठमेल र भक्तपुरमा आयोजना गरिएका सांस्कृतिक महोत्सवहरूले नेपालको सांस्कृतिक विविधता, परम्परा र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । 

    पोखरा महानगरपालिकाका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमल रञ्जन कार्कीले पोखरा महानगरले वर्ष २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा सफल बनाउन विभिन्न योजना समेटेको बताए । 

    उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रमुख देशहरुमा नियमित उडान सुरु गर्ने, पर्यटन विविधीकरणका लागि साहसिक पर्यटनसँगै सांस्कृतिक, ग्रामीण र पर्यावरणीय पर्यटनलाई प्राथमिकता दिने तथा स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा आधारित योजनाहरु लागू गरेर उनीहरुको आर्थिक स्थिति सुधार गर्ने उद्देश्य रहेको छ । महानगरले यो घोषणा पश्चात १५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको कार्कीले जानकारी दिए । 

    ‘यस योजनामा पर्यटन, पूर्वाधार विकास, वातावरणीय दिगोपन, र सामुदायिक उत्थानलाई प्राथमिकता दिइएको छ,’ कार्कीले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै वर्षभरि पोखरालाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने लक्ष्य महानगरले राखेको छ ।’ 

    प्रत्येक वडामा कम्तीमा एक पर्यटकीय गन्तव्य विकास गरी तालदेखि ताल, गुफादेखि गुफा, हाइकिङ मार्ग निर्माण गरिनेछ । विशेष परियोजनाहरु अन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, डेभिज फल्समा ग्लास ब्रिज, सेती नदी खोँचमा पर्यटक पूर्वाधारको विकास, फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । 

    फेवाताल, सराङकोट, र अन्नपूर्ण परिपथ जस्ता गन्तव्यहरुलाई थप प्रवद्र्धन गर्नाका साथै नयाँ पारिस्थितिक पर्यटन पहल, सांस्कृतिक पर्यटन कार्यक्रम र समुदाय–आधारित परियोजना मार्फत पर्यटकलाई विविध अनुभव प्रदान गर्ने प्रयास पनि भइरहेको छ । 

    त्यसैगरी, प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदामा आधारित पर्यटन कार्यक्रम सञ्चालन गर्नाका साथै मुक्तिनाथ प्रवेशद्वार निर्माण, फेवातालमा बाँध निर्माण, कोत्रेम झुवामा बहुउद्देश्यीय प्रवेश पार्क, फेवातालको माथिल्लो भागमा फेवा बीच विकास, रत्न मन्दिरलाई दरबार संग्रहालयका रुपमा पुनर्निर्माण, हेरिटेज ट्रेल र मेट्रो ट्याक्सी सेवा जस्ता पूर्वाधार विकास योजनाहरु कार्यान्वयन गरिने जनाइएको छ । 

    एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा पोखराको पर्यटन विकास र स्थानीय जीविकोपार्जन सुधारका लागि विभिन्न परियोजना अहिले सञ्चालित रहेको पोखराको पर्यटन सुधार परियोजनाबाट काम सुरुआत भएका छन् । एडीबीबाट सहरी उत्थानशील तथा जीवनयापन सुधार आयोजनाका लागि ३१.७९ मिलियन डलर आर्थिक सहयोग गरेको आयोजनाका म्यानेजर इन्जिनीयर कविता पौडेलले जानकारी दिए । 

    पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले महानगरपालिकाले घोषणा तयारी गरेको पोखरा भ्रमण वर्षले पर्यटन क्षेत्रको विकास र पोखराको विश्वव्यापी पहिचानका लागि महत्त्वपूर्ण अवसरका रुपमा लिन सकिने बताए । 

    उनले हालै मात्र सम्पन्न ड्रागन बोट रेस प्रतियोगिता, सडक महोत्सव, हट एयर बेलुन महोत्सवजस्ता जल, जमिन र आकाश लक्षित महोत्सवहरुले अन्तर्राष्ट्रिय जगत्मा पोखरालाई चिनाउन थप सहयोग पुर्याएको बताए । भ्रमण वर्षका लागि पनि साहसिक पर्यटन, ग्रामीण पर्यटन र सांस्कृतिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।  

    पोखरा महानगर सहरी योजना आयोगका पूर्वउपाध्यक्ष तथा पर्यटन रणनीतिका योजनाकार डा रामचन्द्र लामिछानेले भ्रमण वर्ष घोषणा मात्र नगरी यसको लक्ष्य हासिल हुने गरी काम गर्नुपर्ने बताउँछन् । 

    पोखरा भ्रमण वर्ष घोषणा गरेर मात्र पर्यटक आउँदैनन्, रणनीतिक योजना सहितका कार्यक्रम र पूर्वाधार विकासमा ध्यान दिनुपर्छ भन्दै उनले घोषणलाई व्यवहारमा उतार्नका लागि स्पष्ट रणनीति र दृढ इच्छाशक्ति हुनुपर्ने आवश्यकता औँल्याए । 

    पोखरालाई अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रुपमा स्थापित गर्न यातायात, होटल, गाइड,  सुरक्षा, हस्पिटालिटी र स्थानीय समुदायको सशक्त सहभागिता सुनिश्चित गर्नुपर्छ । पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता, पर्यावरणीय संरक्षण र उत्कृष्ट पूर्वाधार विकास अनिवार्य हुन्छ । 

    साथै, पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय उडान सञ्जालको प्रवद्र्धन र पर्यटन कार्यक्रमहरुको विविधता जस्ता पक्षहरुलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend