images

२०८३ मंसिर १२ गते

images
images
images

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङः भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङः भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • खोटाङ, ११ मङ्सिर । किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिचिलुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम, वाबु (चिण्डो)सहितको प्रवेशद्धार र स्वागतद्धार लगायतका मुन्दुमी संरचना निर्माण गरिएको हो । 

    images
    images

    देश–विदेशमा रहेका किराती तथा गैरकिरातीबाट सङ्कलन गरिएको करिब रु दुई करोड ८४ लाख रकममध्ये रु दुई करोड ६२ लाखमा भौतिक संरचना निर्माण गरिएको आयोजक साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तरराष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बुले राई ‘मूलघरे कान्छा’ले जानकारी दिएका छन् । 

    “साल्पा–सिलिचुङ विश्वभर छरिएर रहेका किरातीहरूको मुन्दुम तथा रिसियामा आउँछ । यसलाई संरक्षण र प्रवद्र्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्य राखिएको छ”, उनले भने, “किराती मुन्दुम अनुसार साल्पा–सिलिचुङ नै किरातीहरूको सृष्टि र मुन्दुमको उत्पत्ति केन्द्र भएको जनविश्वास छ । मुन्दुमी मिथकलाई भौतिकीकरण गर्न किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ क्षेत्रमा मुन्दुमी संरचना निर्माण गरिएको हो । यसले भावी पुस्तालाई मुन्दुमी ज्ञानको अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।” 

    images
    images

    साल्पा–सिलिचुङको चौतर्फी विकासका लागि २०७९ सालमा अन्तरराष्ट्रिय समिति स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर स्तरोन्नतिको काम सुरु गरिएको थियो । तीन चरणमा सञ्चालन गरिएको अभियान अन्तर्गत पहिलो वर्ष २०८१ साल वैशाख ७ गते सुम्निमा र पारुहाङ तथा नाक्छुङको प्रतिमा स्थापना, दोस्रो वर्ष २०८२ साल वैशाख १ गते सुम्निामा र पारुहाङको प्रतिमा तथा साल्पापोखरीमा तीन चुल्हासहितको मुन्दुमी माङथाम र यस वर्ष ३५ फिट अग्लो पित्तलको जोडी वाबुक–सोलोन्वा (चिण्डो), पोखरीभित्र पारुहाङ अन्तरध्यानमा बसेको प्रतिमा तथा नाक्छुङ चरा (कल्चुडा)को प्रतिमा स्थापना गरिएको हो।

    ‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङ्कङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायल लगायत विश्वभर छरिरहेका नेपाली जोडिएका छन् । बृहत् योजनासहित सुरु गरिएको अभियानका लागि साउदी अबरमा रहेका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरिएको थियो । 

    समुद्री सतहबाट तीन हजार ४४३ मिटर उचाइमा अवस्थित साल्पा–सिलिचुङ क्षेत्रको चौतर्फी विकास गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानको अध्ययन तथा अनुसन्धानका लागि यसअघि अध्ययन तथा अनुसन्धान समितिसमेत निर्माण गरिएको थियो । करिब चार वर्ष सञ्चालन गरिएको अभियानका क्रममा भएका आर्थिक तथा भौतिक प्रगतिका बारेमा यही मङ्सिर १८ गते काठमाडौँमा बृहत् कार्यक्रम गरी सार्वजनिकीकरण गरिने समितिका अध्यक्ष मूलघरे कान्छाले जानकारी दिएका छन् । 

    धार्मिक तथा पर्यटकीयस्थल सिचिलुङबाट सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिक हिमाल लगायत उच्च हिमशृङ्खला, तराईका फाँट तथा विभिन्न नदी, वनजङ्गल र किराती वस्ती प्रष्ट देख्न सकिन्छ । साल्पापोखरीबाट उत्तरपूर्वी भेगमा पर्ने सिलिचुङको उचाइ समुद्री सतहदेखि चार हजार १५५ मिटर अग्लो छ ।

    सिलिचुङ आसपासमा रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायत डाँडामध्ये सबैभन्दा अग्लो डाँडाका रूपमा स्थापित छ । टेम्के समुद्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा छ भने मैयुङको उचाइ तीन हजार ३३३ मिटर अग्लो छ । 

    किरात समुदायको आस्थाको केन्द्र मानिने सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा आन्तरिक तथा बाह्य पर्यटक आफ्नो मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्दै आएका छन् । साल्पापोखरीमा हरेक वर्ष चार पटक (वैैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा) मेलासमेत लाग्ने गरेको छ ।

    बिना मुहान तथा बिना निकासको पानी जमेर बनेको साल्पापोखरीमा लाग्ने मेलामा खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बू लगायत विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन् । साल्पापोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरू बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरूले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास रहिआएको छ । 

    कचौरा आकारमा फैलिएको साल्पापोखरी समुद्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ । पहिलोपटक सगरमाथा चढ्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरीकै मार्ग प्रयोग गरेको बताइएको छ । 

    नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग यो क्षेत्र (साल्पा–सिलिचुङ) सम्म विस्तार गरिएको छ । मुन्दुम पदमार्गले छोएको स्थानलाई जोड्दै चारवटै जिल्ला .खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्ब ) का स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा पदमार्गसमेत निर्माण गरिहेका छन् । 

    प्रचारप्रसारको अभावमा ओझेलमा रहेको धार्मिक एवं पर्यटकीयस्थल साल्पा–सिलिचुङ आसपास निर्माण गरिएका पदमार्गमा पछिल्लो समय होटल तथा होमस्टे (घरबास)हरूसमेत विस्तार हुन थालेका छन् । होटल तथा होमस्टे विस्तार हुन थालेपछि मुन्दुम पदमार्ग हुँदै साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुँदै गएको स्थानीय बासिन्दा बताउँछन् । 

    होटल तथा होमस्टे स्थापना हुनुअघि साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटक चौँरीगोठ तथा भेँडीचोकहरूमा बास बस्दै आएका थिए । धार्मिक आस्थाका रूपमा मात्र नभई प्राकृतिक रूपमा समेत पर्यटकीय गन्तव्यमा पर्ने साल्पा–सिलिचुङ जाने मुन्दुम पदमार्ग आसपास ठुल्ठूला घाँसेमैदान, चौँरीखर्क, भेँडीचोक, घोडचढी लगायतका दृष्य प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend