images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • गरिब, दलित र असहाय बालबालिकाका लागि...

गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय

गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय

images
images
सोमवार, पौष १५ २०८१
सोमवार, पौष १५ २०८१
  • खोटाङ, १५ पुस । जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय बनाइएको हो ।

    images
    images

    गाउँपालिकाभित्रका गरिब, दलित र असह्य बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नदिन आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिए । “गरिब, दलित र असह्य बालबालिकाका लागि गाउँपालिकाका तर्फबाट खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था मिलाएका छौँ । अब गाउँपालिकाभित्रका कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु पर्दैन”, उनले भने, “यसै शैक्षिकसत्रबाट सुरुआत गरिएको आवासीय शिक्षाका लागि यस वर्ष १९ जना बालबालिका भर्ना भएका छन् । आगामी दिनमा यसलाई बढाउँदै प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ ।”

    कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा सञ्चालन गरिएको आवाससहितको निःशुल्क शिक्षा कार्यक्रमका लागि दुईजना शिक्षक तथा एकजना कर्मचारी व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले चौबिसै घण्टा बालबालिकाको रेखदेख तथा अध्यापनको काम गर्ने गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।

    images
    images

    तत्कालका लागि विद्यालयकै एउटा भवनमा सञ्चालित निःशुल्क आवासीय विद्यालय कार्यक्रमको औपचारिक उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ले गरे । गाउँपालिकाको लगानीमा गरिब, दलित र असह्य बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय विद्यालय सञ्चालन भएपछि खर्च अभावका कारण पढाइ छाड्नुपर्ने अवस्थाका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।

    पहिलो चरणमा कक्षा १ देखि १० सम्म सञ्चालन गरिएको निःशुल्क आवासीय शिक्षा कार्यक्रमलाई प्रभावकारिताका आधारमा थप गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । शैक्षिकसत्रको सुरुबाटै सञ्चालन गरिएको निःशुल्क आवासीय शिक्षा कार्यक्रममा १५ जना छात्र र चारजना छात्रा सहभागी भएका छन् ।आवासीय विद्यालयमा अध्ययन गर्न चाहने अन्य विद्यार्थीले वार्षिक ४० हजार उपलब्ध गराएको खण्डमा उनीहरूलाई समेत भर्ना गरेर सहभागी गराउन सकिने गाउँपालिकाले जनाएको छ । विसं २०१४ मा स्थापना भएको उक्त विद्यालयमा दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कृष्णबहादुर राईले जानकारी दिए ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्यसमेत रहेका नेता राईले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरूलाई आवासीय विद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । “नेपाल सरकारको ठूलो लगानी रहेको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्कँदो अवस्थामा छ । ग्रामीण भेगका धेरै विद्यालय विद्यार्थीको पहुँचभन्दा टाढा छन्”, उनले भने, “विद्यालय टाढा भएकै कारण कतिपय विद्यार्थीले आफ्नो पढाइलाई निरन्तरता दिन पाएका छैनन् । अब बन्ने शिक्षा विधेयकमा सामुदायिक विद्यालयहरू आवासीय बनाउने नीति ल्याउन जरुरी छ ।”

    तिनिधिसभामा विचाराधीन अवस्थामा रहेको शिक्षा विधेयकमा आफूले सामुदायिक विद्यालयलाई पूर्ण आवासीय बनाउनुपर्ने प्रस्तावसमेत पेस गरेको सदस्य राईले जानकारी दिए । सामुदायिक विद्यालयमा राज्यको यति ठूलो लगानी भएर पनि खस्कँदै गएको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि वर्तमान सरकारले बेलैमा ध्यान दिनुपर्नेमा सदस्य राईले जोड दिए ।उद्घाटन कार्यक्रमलाई पूर्ववन तथा वातावरण राज्यमन्त्री शिवकुमार बस्नेत, प्रदेशसभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति राजन किराती ‘बासु’ लगायतले सम्बोधन गरेको थियो । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले काहुलेमा सञ्चालन गरेको निःशुल्क आवासीय शिक्षा कार्यक्रम जिल्लामै पहिलो हो ।

    शिक्षा क्षेत्रको सुधारमा लागिपरेको उक्त गाउँपालिकाले दुई वर्षदेखि छजना छात्रछात्रालाई बाली विज्ञान विषयमा अध्यापन गराइरहेको छ । आफ्नो अध्ययन पूरा गरेपछि गाउँपालिकामै फर्किएर काम गर्ने सर्तमा छजना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराइएको गाउँपालिका प्रमुख राईले जानकारी दिए । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend