images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न...

भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौँः व्यवसायी

भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौँः व्यवसायी

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • भैरहवा ।भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान–अवतरण भएसँगै खुसी भएका यहाँका पर्यटन व्यवसायीलाई अहिले सेवाको निरन्तरताको प्रश्नले सताएको छ ।विमानस्थल निर्माण थालेसँगै लगानी बढाएका यहाँका पर्यटन व्यवसायीलाई अहिले विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन्छ कि हुँदैन भनी चिन्तित तुल्याएको छ ।

    images
    images

    निर्माण सम्पन्न भएको झण्डै साढे दुई वर्षपछि सो विमानस्थलबाट दैनिक पाँच वायु सेवा प्रदायकले विभिन्न गन्तव्यमा उडान भरेकामा अहिले उडान स्थगन गरेका छन् । हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले मात्रै भैरहवाबाट दैनिक एक उडान भरिरहेको छ ।विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधारको अझै प्रबन्ध हुन नसक्दा यसको निरन्तरताप्रति प्रश्न उब्जिरहेको छ । सिद्धार्थ होटल सङ्घ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि आवश्यक पूर्वाधार अझै निर्माण नहुँदा विमानस्थल सञ्चालन हुन्छ कि हुँदैन भन्नेमा दुविधा रहेको बताउँछन् ।

    “अहिलेको अवस्था हेर्दा अब अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन हुन्छ भन्नेमा व्यवसायी र यहाँका नागरिकलाई विश्वास छैन”, उनले भने । अध्यक्ष श्रेष्ठले गौतमबुद्ध विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउन श्रम अनुमति, प्रवेशाज्ञा (भिसा) सेन्टर, वैदेशिक रोजगार व्यवसायी कम्पनी, अभिमुखीकरण तालिम केन्द्र, स्वास्थ्य सेवा प्रदायक संस्थालगायत पूर्वाधार भैरहवा क्षेत्रमा तत्काल प्रबन्ध गर्नुपर्ने आवश्यकता औँल्याए ।

    images
    images

    “यी सबै पूर्वाधार भैरहवामा सञ्चालन गर्न सकिएको खण्डमा मात्रै विमान कम्पनीले पूर्ण रुपमा यात्रु पाउँछन्”, उनले भने, “सुरुआती दिनमा नयाँ स्थानमा व्यवसाय सञ्चालन गर्न केही छुट दिएर प्रवर्द्धन गर्न सकिन्छ, यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।”गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाइएको थियो । निर्माण थालेको करिब सात वर्षपछि २०७९ जेठ २ गते सो विमानस्थलको उद्घाटन गरिएको थियो । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि व्यवसायीले थुप्रै लगानी थपेका उनी सम्झिन्छन् ।

    काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे विस्तारका क्रममा दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा भैरहवामा दैनिक पाँच वटा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले सेवा सुरु गरेका छन् । यसमध्ये कतार एयरवेजले केहीदिन अघिदेखि भैरहवा उडान स्थगित गरेको छ ।पर्यटन व्यवसायी पवन हलुवाई भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ भएपछि जोखिम मोलेरै भए पनि आफूले लुम्बिनीमा पाँचतारे होटल सञ्चालनमा ल्याएको बताउँछन् । कोरोना महामारी र भैरहवामा अन्तर्राष्ट्रिय जहाज अवतरण नहुँदा आफ्नो लगानी खेर गइरहेको र सञ्चालन खर्च पनि धान्न मुस्किल भइरहेको उनको गुनासो छ ।

    “कोरोनाले तीन वर्ष होटल व्यवसाय ठप्प भयो, पर्यटक आवागमन शून्यप्रायः बन्यो”, व्यवसायी हलुवाईले भने, “बैंकको ब्याज तिर्न नसक्दा व्यवसायीको कर्जा बढेको बढ्यै छ, सात वर्षपछि बनेको विमानस्थल पूर्ण रुपमा सञ्चालन नहुँदा व्यवसायीमा निराशा छाएको छ ।”भैरहवाका व्यवसायीको एउटै माग छ– जुनसुकै मूल्यमा पनि अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानअवतरण हुनुपर्छ । त्यहाँका व्यवसायीले जुनसुकै ‘फोरम’मा यही माग दोहोर्‍याउँदै आएका छन् । व्यवसायीले सङ्गठित रूपमा नै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

    “व्यवसायीले भैरहवा र लुम्बिनी क्षेत्रमा पाँचतारे होटल सञ्चालनमा ल्याए । कसैले लगानी थप गरी होटलको क्षमता बढाए”, होटल एशोसिएशन नेपालका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले विगत सम्झदै भने, “अब लुम्बिनीमा लाखौँ पर्यटक आउँछन्, निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्ने र आम्दानी गर्ने वातावरण बन्छ भन्ने सोचका साथ लगानी बढाएको अवस्था थियो ।”विमानस्थल उद्घाटन भएको साढे दुई वर्ष भइसक्दा पनि नियमित सञ्चालन हुन नहुनु विडम्बना भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले लगानीको प्रतिफल लिन नसक्ने अवस्था बनेको बताए । “करिब रु ४० अर्ब खर्च गरेर विमानस्थल निर्माण गरियो । यसैलाई आधार मानेर निजी क्षेत्रले ठूलो लगानी गरे”, उनले भने ।

    कोरोनापछि यसवर्ष पर्यटकको चहलपहलबाट खुसी देखिएका व्यवसायी विमानस्थल पूर्ण रुपमा नचल्दा निराश हुने अवस्था आएको व्यवसायी हलुवाईको भनाइ छ । “अक्टुबरदेखि अप्रिलसम्म लुम्बिनीमा पर्यटक आउने गरेका छन्, लुम्बिनीमा विभिन्न पूजाआर्चना र ध्यानका कार्यक्रम बढेका छन्”, उनले भने, “विमानस्थल राम्रोसँग सञ्चालनमा आए यहाँको पर्यटन व्यवसाय फस्टाउनेछ ।”

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend