काठमाडौँ । प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले देशका सबै महानगरपालिकाका प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) को मर्यादाक्रम समान बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको मर्यादाक्रम माथि र अन्य महानगरपालिकाका प्रमुख र उपप्रमुखको मर्यादाक्रम तल राख्ने विद्यमान व्यवस्था संविधान, कानुन र नागरिकको समानताको दृष्टिकोणले गलत रहेको भन्दै उनले सच्याउन निवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदनमार्फत ध्यानाकर्षण गराएका हुन् ।
सांसद न्यौपानेले बुझाएको ध्यानाकर्षण पत्रमा काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज महानगरपालिकाका प्रमुख र उपप्रमुखहरू समान संवैधानिक तथा कानुनी व्यवस्था अन्तर्गत निर्वाचित हुने पदाधिकारी भएको उल्लेख छ । उनीहरूको निर्वाचन प्रक्रिया, पदीय हैसियत, कार्यकाल, स्थानीय कार्यपालिकामा रहने भूमिका तथा जनताप्रतिको उत्तरदायित्व समान प्रकृतिको रहेको भन्दै काठमाडौँ महानगरका पदाधिकारीको पद अन्य महानगरका पदाधिकारीको भन्दा उच्च रहने कुनै संवैधानिक वा कानुनी व्यवस्था नरहेको न्यौपानेको भनाइ छ । लोकतन्त्रमा जनप्रतिनिधिको मर्यादा भूगोलका आधारमा नभई प्राप्त जनादेश, संवैधानिक हैसियत र सार्वजनिक जिम्मेवारीका आधारमा निर्धारण हुनुपर्ने उनको तर्क छ । ‘काठमाडौँ महानगरपालिकाका नागरिकले दिएको जनादेश जति मूल्यवान् छ, त्यति नै मूल्यवान् जनादेश ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज महानगरपालिकाका नागरिकले दिएका छन्’, न्यौपानेले भनेका छन् ।
यसले राजधानी बाहिरका महानगरपालिकाका नागरिकको मत, सहभागिता र लोकतान्त्रिक अधिकारलाई औपचारिक मर्यादाक्रममा समेत तुलनात्मक रूपमा तल्लो स्थानमा राख्ने विद्यमान व्यवस्थाले समानताको संवैधानिक भावना र सङ्घीयताको सहअस्तित्वमूलक मान्यतामाथि स्वाभाविक प्रश्न उत्पन्न गरेको न्यौपानेको भनाइ छ ।







.gif)





.gif)
