काठमाडौँ । बाढी पहिरोका कारण त्रिशूली नदीमा क्षतिग्रस्त बनेका तीन वटा पक्की पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिततासहित निर्णयको पत्र प्राप्त भएसँगै सडक विभागले आगामी एक साताभित्रै बोलपत्र (टेन्डर) आह्वान गर्ने तयारी तीव्र पारेको हाे ।सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार धादिङ र नुवाकोट जोड्ने तीन वटा महत्त्वपूर्ण पुलको निर्माण प्रक्रिया प्राथमिकताका साथ अघि बढाइएको हो । तत्काल निर्माण थालिने पुलहरूमा त्रिशूली बजार (नुवाकोटबाट पारि जोड्ने), धादिङ जोड्ने घाटबेसी र फुर्के खोला रहेका छन् ।
यी पुलहरू विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कुर्न नपर्ने गरी छिटो निर्माण सम्पन्न गर्न ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा बनाइने उनले जानकारी दिए । अर्थ मन्त्रालयबाट सहमति आइसकेकाले प्रक्रिया टुङ्गाएर एक हप्ताभित्रै टेन्डर आह्वान गर्ने विभागको लक्ष्य छ ।गत भदौ १० गतेको भीषण बाढी पहिरोले रसुवा, नुवाकोट, धादिङ र गोरखाको भौतिक पूर्वाधार सञ्जाल नराम्ररी तहसनहस पारेको थियो । उक्त विपद्का कारण ६९ किलोमिटर सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको थियो भने ३३ वटा पूर्ण र ४ वटा आंशिक गरी ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको थियो ।पुलहरू बाढीले बगाएपछि प्रभावित क्षेत्रका बासिन्दा तीन महिनादेखि चरम सास्ती भोग्न बाध्य छन्। विशेष गरी नुवाकोट र काठमाडौँ आवतजावत गर्ने यात्रु तथा सवारी साधनहरू गल्छी हुँदै ३५ देखि ४० किलोमिटर लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा छन् । छोटो दूरीको बाटो बन्द हुँदा स्थानीयको दैनिक जनजीवन, कृषि उपजको ढुवानी र बिरामीलाई अस्पताल पुर्याउनसमेत निकै कठिनाइ भइरहेको छ ।
लामो समयसम्म पुल पुनर्निर्माण नभएको भन्दै जनस्तरबाट गुनासो आइरहेको सन्दर्भमा प्रवक्ता न्यौपानेले भने– ‘पुल निर्माण तत्कालै रातारात सम्भव हुँदैन । कम्तीमा घुमाउरो बाटोबाट भए पनि आवागमन चालु छ। अब अर्थ मन्त्रालयको सहमतिसँगै हामी स्थायी समाधानका लागि छिटो टेन्डर प्रक्रियामा जाँदैछौँ ।’यसैगरी, उत्तरी नाका रसुवागढी जोड्ने सडकतर्फ स्याफ्रुबेँसी र भोटेकोशी गरी दुई स्थानमा तत्कालका लागि बेलिब्रिज जडानको काम अघि बढाइएको विभागले जनाएको छ ।




.gif)





.gif)
