images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • आईपीएल २०२७ को मिनी अक्सनमा नेपालका...

आईपीएल २०२७ को मिनी अक्सनमा नेपालका १० सहित १ हजार २२० खेलाडीले गराए नाम दर्ता

आईपीएल २०२७ को मिनी अक्सनमा नेपालका १० सहित १ हजार २२० खेलाडीले गराए नाम दर्ता

images
images
बुधवार, मंसिर ९ २०८३
बुधवार, मंसिर ९ २०८३
  • काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सनका लागि नेपालका १० खेलाडीसहित कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी समेटिएका छन्।१० फ्रेन्चाइज टोलीमा जम्मा ६६ खेलाडीको स्थान खाली रहेकाले अक्सनमा प्रतिस्पर्धा कडा हुने देखिएको छ। खाली स्थानमध्ये २५ विदेशी खेलाडीका लागि छुट्याइएको छ। त्यसैले नाम दर्ता गराएका धेरै विदेशी खेलाडीले टोलीमा स्थान नपाउने सम्भावना छ।

    images
    images

    बीसीसीआईका अनुसार १० टोलीले अक्सनअघि नै १८४ खेलाडीलाई टोलीमा कायम राखेका वा अनुबन्ध गरिसकेका छन्। ती खेलाडीमध्ये ५५ विदेशी छन्। फ्रेन्चाइज टोलीहरूले खेलाडी अनुबन्ध गर्न कुल १ हजार ४ करोड ४० लाख भारतीय रुपैयाँ खर्च गरिसकेका छन्। अब उनीहरूसँग खेलाडी खरिदका लागि २९५ करोड ६० लाख रुपैयाँ बजेट बाँकी छ।विदेशी खेलाडीको दर्तामा अस्ट्रेलिया पहिलो स्थानमा छ। अस्ट्रेलियाबाट ५३ खेलाडीले नाम दर्ता गराएका छन्। दक्षिण अफ्रिकाबाट ४०, वेस्ट इन्डिजबाट ३६, न्युजिल्यान्डबाट २५ र अफगानिस्तानबाट २३ खेलाडी दर्ता भएका छन्। त्यस्तै, श्रीलंकाबाट २१, इंग्ल्यान्डबाट १६, बंगलादेशबाट १२, अमेरिकाबाट १३, यूएईबाट १० र नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका छन्। आयरल्यान्डबाट सात, जिम्बाब्वेबाट ६, नेदरल्यान्ड्सबाट तीन तथा क्यानडा, जापान र स्कटल्यान्डबाट दुई–दुई खेलाडी दर्ता भएका छन्।

    प्रारम्भिक दर्ता सूचीमा १८४ क्याप्ड, ९९४ अनक्याप्ड र एसोसिएट राष्ट्रका ४२ खेलाडी रहेका छन्। अनक्याप्ड खेलाडीमध्ये ९२५ जना भारतीय छन्। उनीहरूमध्ये १२७ जनाले यसअघि आईपीएल खेलिसकेका छन् भने ७९८ जना पहिलोपटक प्रतियोगितामा अवसर पाउने आशामा छन्।त्यस्तै, विदेशी खेलाडीमध्ये ६९ जना अन्तर्राष्ट्रिय खेलमा क्याप नपाएका खेलाडी छन्। अक्सनका लागि नाम दर्ता गराउँदैमा सबै खेलाडी अन्तिम सूचीमा पर्ने छैनन्। प्रारम्भिक सूचीबाट फ्रेन्चाइज टोलीहरूले आफूलाई आवश्यक खेलाडीको नाम छनोट गरी बीसीसीआईलाई पठाउनेछन्। बीसीसीआईका अनुसार अन्तिम अक्सन सूची र खेलाडीको समूह डिसेम्बर ४, २०२६ मा सार्वजनिक गरिनेछ। त्यसपछि मात्र १० टोलीले अक्सनमा कुन–कुन खेलाडीका लागि बोली लगाउन पाउनेछन् भन्ने टुंगो लाग्नेछ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend