काठमाडौँ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा सार्वजनिक ‘आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३)’ अनुसार देशको पशुजन्य, मत्स्य र वनजन्य उत्पादनमा मिश्रित नतिजा देखिएको छ। समीक्षा वर्षमा दूध, माछा, ऊन तथा औषधिजन्य वनस्पतिको उत्पादनमा बढोत्तरी हुँदा मासु, अण्डा, छाला र काठको उत्पादन भने घटेको छ।राष्ट्र बैंकको प्रतिवेदन अनुसार समीक्षा वर्षमा दूध उत्पादन ३ दशमलव ६४ प्रतिशतले बढेर कुल ३० लाख ३३ हजार ६५६ हजार लिटर पुगेको छ। यसअघि गत आर्थिक वर्षमा दूध उत्पादन ३ दशमलव ४२ प्रतिशतले बढेको थियो।
त्यसैगरी, माछा उत्पादनमा ६ दशमलव २९ प्रतिशतको वृद्धि भई कुल उत्पादन १ लाख ४ हजार ८२५ मेट्रिक टन पुगेको छ। ऊन उत्पादनतर्फ पनि शून्य दशमलव २८ प्रतिशतको सामान्य सुधार देखिएको छ। यसविपरीत, अघिल्लो वर्ष ३ दशमलव शून्य एक प्रतिशतले बढेको मासु उत्पादन समीक्षा वर्षमा शून्य दशमलव शून्य ९ प्रतिशतले घटेर ५ लाख ६६ हजार ३३९ मेट्रिक टनमा सीमित भएको छ।

अण्डा उत्पादनमा ५ दशमलव ७७ प्रतिशतको ह्रास आई कुल उत्पादन १४ लाख २० हजार ३७९ हजार गोटामा झरेको छ। छाला उत्पादनतर्फ समेत ८ दशमलव २७ प्रतिशतको गिरावट आएको अध्ययनले देखाएको छ।वनजन्य उत्पादनतर्फ दाउरा र औषधिजन्य वनस्पतिको उत्पादन उत्साहजनक रूपमा वृद्धि भएको छ। समीक्षा वर्षमा दाउरा उत्पादन १९ दशमलव ७४ प्रतिशत र औषधिजन्य वस्तुको उत्पादन ६५ दशमलव २६ प्रतिशतले बढेको छ। अर्कातर्फ, काठ उत्पादन भने १ दशमलव ४० प्रतिशतले घटेको छ। गत आर्थिक वर्षमा काठ उत्पादन ८ दशमलव ४३ प्रतिशतले बढेको थियो भने दाउरा १४ दशमलव ९१ प्रतिशत तथा औषधिजन्य वस्तुको उत्पादन ११ दशमलव ७१ प्रतिशतले घटेका थिए।प्रदेशगत उत्पादनको हिस्सा विश्लेषण गर्दा दूध, मासु र माछा उत्पादनमा मधेश प्रदेश शीर्ष स्थानमा रहेको छ। कुल दूध उत्पादनको २१ दशमलव ६५ प्रतिशत (६ लाख ५६ हजार ८१३ हजार लिटर), कुल मासु उत्पादनको २३ दशमलव ५६ प्रतिशत (१ लाख ३५ हजार १०० मेट्रिक टन) र कुल माछा उत्पादनको झन्डै आधा अर्थात् ४८ दशमलव ३८ प्रतिशत (५० हजार ७१८ मेट्रिक टन) हिस्सा मधेश प्रदेशले ओगटेको छ।
दूध उत्पादनमा बागमती प्रदेश २० दशमलव ४१ प्रतिशत र लुम्बिनी प्रदेश १८ दशमलव १९ प्रतिशतसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा न्यून ३ दशमलव १२ प्रतिशत मात्र रहेको छ। मासु उत्पादनतर्फ बागमतीको हिस्सा २० दशमलव ११ प्रतिशत र लुम्बिनीको १५ दशमलव २६ प्रतिशत रहँदा कर्णाली प्रदेशको योगदान ५ दशमलव ११ प्रतिशतमा सीमित भएको छ।

अण्डा उत्पादनमा भने बागमती प्रदेशले एकलौटी वर्चस्व कायम गरेको छ। देशभर उत्पादित कुल अण्डामध्ये बागमती प्रदेशको हिस्सा ४२ दशमलव ७५ प्रतिशत (६ लाख ७ हजार १५७ हजार गोटा) रहेको छ। गण्डकी प्रदेश १६ दशमलव २९ प्रतिशत र लुम्बिनी प्रदेश १५ दशमलव ६१ प्रतिशत हिस्सासहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने कर्णाली प्रदेशको हिस्सा २ दशमलव ७१ प्रतिशतसहित सबैभन्दा पछाडि छ। माछा उत्पादनतर्फ मधेशपछि लुम्बिनी प्रदेशले १८ दशमलव ९२ प्रतिशत र कोशी प्रदेशले १३ दशमलव ७९ प्रतिशत योगदान दिएका छन्। कर्णाली प्रदेशको माछा उत्पादनमा हिस्सा सबैभन्दा कम शून्य दशमलव २७ प्रतिशत मात्र छ।




.gif)





.gif)
