महोत्तरी । महोत्तरी जिल्लास्थित मनराशिसवा नगरपालिकाले भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न पदमा सेवा करारमार्फत पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ। नगर कार्यपालिकाको कार्यालयले बुधबार एक सूचना जारी गर्दै तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट १५ दिनभित्र दरखास्त आह्वान गरेको हो।नगरपालिकाले नापी अधिकृत, सर्भेक्षक, अमिन, सहायक कम्प्युटर अपरेटर र कार्यालय सहयोगी गरी कूल पाँच पदका लागि सात जना कर्मचारी माग गरेको छ। जसअनुसार अधिकृत छैटौँ तहको नापी अधिकृत पदमा १ जना, पाँचौँ तहको सर्भेक्षक पदमा १ जना, चौथो तहको अमिन पदमा १ जना, चौथो तहकै सहायक कम्प्युटर अपरेटर पदमा २ जना तथा श्रेणीविहीन कार्यालय सहयोगी पदमा २ जनाका लागि दरखास्त खुलाइएको छ।
दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारहरूले नगरपालिकाको प्रशासन शाखामा कार्यालय समयभित्र आवेदन बुझाउनुपर्नेछ। दरखास्त फाराम नगरपालिकाको प्रशासन शाखा वा आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ। दरखास्त दस्तुरबापत छैटौँ, पाँचौँ र चौथो तहका आवेदकले एक हजार रुपैयाँ तथा श्रेणीविहीन पदका आवेदकले पाँच सय रुपैयाँको राजस्व भौचर आवेदनसाथ पेस गर्नुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टसम्म आवेदन दर्ता गर्न सकिनेछ।छनोट प्रक्रियाअन्तर्गत छैटौँ, पाँचौँ र चौथो तहका लागि लिखित तथा अन्तर्वार्ता परीक्षा सञ्चालन गरिनेछ भने कार्यालय सहयोगीका लागि अन्तर्वार्ता मात्र लिइनेछ। स्थानीय तहमा कार्य अनुभव हासिल गरेका व्यक्तिलाई विशेष ग्राह्यता र महिलालाई विशेष प्राथमिकता दिइने नगरपालिकाले जनाएको छ। विदेशी शिक्षण संस्थाबाट अध्ययन गरेका उम्मेदवारले त्रिभुवन विश्वविद्यालय वा नेपाल सरकारको आधिकारिक निकायबाट समकक्षता निर्धारण भएको प्रमाणपत्र अनिवार्य बुझाउनुपर्नेछ।
नियुक्त हुने कर्मचारीको सेवा अवधि २०८४ असार मसान्तसम्म रहने र कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप हुन सक्ने कार्यालयले स्पष्ट पारेको छ। पारिश्रमिक तथा सेवा सुविधा नगरपालिकाले तोकेको र करार सम्झौतामा उल्लेख भएअनुसार हुनेछ।




.gif)





.gif)
