काठमाडौँ । भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीकै क्रममा अवैध वस्तुसँग मिसाउने सम्भावना रोक्न सरकारले भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) लाई एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ । मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले यस्तो प्रस्ताव राखेका हुन् ।
भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने सचिव उपाध्यायले बताए । भन्सारबाट वैधानिक रूपमा सामान लिएर निस्किएका सवारीसाधनले बाटोमा अवैध सामान थप्ने वा वैध सामानसँग मिसाएर ढुवानी गर्ने गरेको उदाहरण उनले प्रस्तुत गरे । भैरहवा भन्सारबाट सामान लिएर आएको गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपेर काठमाडौँको थानकोटमा पक्राउ परेको घटनालाई उनले यसैको उदाहरणका रूपमा उल्लेख गरे । यस्ता गतिविधि नियन्त्रण गर्न भन्सारबाट आएका सामानको विवरण र ढुवानी साधनको विवरणबीच स्वचालित सम्बन्ध स्थापित गर्नुपर्ने उनको भनाइ छ ।‘यो प्रणाली भन्सारबाट वैध रूपमा प्रज्ञापनपत्रमार्फत आएका सामानको आन्तरिक ढुवानीका क्रममा बीच बाटोमा अन्य सामान थप्ने वा अनलोड गर्ने जस्ता गतिविधि नियन्त्रण गरी ढुवानीलाई ट्रयाक गर्न विकास गरिएको हो,’ सचिव उपाध्यायले भने, ‘प्रणालीलाई थप प्रभावकारी बनाउन भन्सार प्रज्ञापनपत्र अनलाइन प्रणालीसँग भेहिकल ट्रयाकिङ सिस्टम आबद्ध गर्न आवश्यक छ ।’
आन्तरिक उत्पादनबाट बजारमा पठाइने वस्तुका लागि भीसीटीएसमा विवरण प्रविष्ट गर्ने व्यवस्था कायम राख्दै भन्सारबाट आयात हुने वस्तुको हकमा भन्सारको अनलाइन सूचना प्रणालीसँगै आबद्ध गर्नुपर्ने उपाध्यायले प्रस्ताव गरे । चोरीपैठारी र भीसीटीएसमा विवरण प्रविष्ट नगर्ने विषय फरक रहेको पनि उनले स्पष्ट पारे । भन्सारबाट वैधानिक रूपमा आएका सामानको विवरण भीसीटीएसमा प्रविष्ट नगरेमा पहिलोपटक ५० हजार र त्यसपछि एक लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था प्रक्रियागत विषय भएको उनको भनाइ छ । चोरीपैठारीमा संलग्नलाई भने छुट्टै कानुनी व्यवस्थाअनुसार कडा कारबाही हुने उनले जानकारी दिए ।भीसीटीएससम्बन्धी मापदण्ड कार्यान्वयन गर्नुअघि व्यवसायीलाई पर्याप्त समय दिएर जानकारी गराउनुपर्नेमा सचिव उपाध्यायले जोड दिए । हरेक मापदण्ड राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था गर्दा प्रक्रिया अनावश्यक रूपमा लामो हुन सक्ने भएकाले आन्तरिक राजस्व विभागले मापदण्ड तयार गरी कार्यान्वयन हुनुभन्दा निश्चित दिनअघि नै सार्वजनिक गर्ने व्यवस्था कानुनमा राख्नुपर्ने उनको सुझाव छ ।




.gif)





.gif)
