काठमाडौँ । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था खारेज गर्ने प्रस्ताव अघि बढाएको छ ।व्यावसायिक वातावरणलाई सहज र विश्वसनीय बनाउने, कानुनी दोहोरोपन हटाउने तथा विद्यमान कानुनी जटिलता न्यूनीकरण गर्ने उद्देश्यले यस्तो प्रस्ताव अघि बढाइएको अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले बताएका हुन् । प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलका क्रममा दाहालले विभिन्न अनुसन्धान तथा अध्ययन प्रतिवेदन, विशेषगरी उच्चस्तरीय आर्थिक सुधार कार्यदलको सुझाव र निजी क्षेत्रबाट आएका मागका आधारमा ऐन संशोधन तथा खारेजीको प्रस्ताव अघि बढाइएको जानकारी दिए ।
हाल राजस्व चुहावट नियन्त्रणसम्बन्धी कानुनी व्यवस्थामा रहेका मूल विषयहरूलाई सम्बन्धित कानुनमै समेट्ने प्रस्ताव गरिएको छ । आयकरसँग सम्बन्धित विषय आयकर ऐनमा र मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवस्तुको ढुवानी र ओसारपसारसँग सम्बन्धित भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) का विषय मूल्य अभिवृद्धि कर ऐनमा समावेश गर्ने प्रस्ताव छ । त्यसैगरी, भन्सार क्षेत्रभित्र तथा भन्सारबाहिर हुने चोरी पैठारी नियन्त्रणका लागि गरिने अनुसन्धानसम्बन्धी व्यवस्थालाई भन्सार ऐनमा समेट्ने तयारी गरिएको उनले बताए ।राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा ऐन तथा नियमावली खारेज गर्ने प्रस्ताव गरिएको छ । विशेषगरी व्यावसायिक वातावरणलाई थप विश्वसनीय र सहज बनाउन, विभिन्न काममा देखिएको दोहोरोपन हटाउन तथा कानुनी जटिलता न्यूनीकरण गर्ने उद्देश्यले यस्तो प्रस्ताव अघि सारिएको हो,’ सहसचिव दाहालले भने, ‘उच्चस्तरीय आर्थिक सुधार कार्यदलको सुझाव र निजी क्षेत्रबाट आएका मागलाई समेत मध्यनजर गर्दै ऐन संशोधन तथा खारेजीको प्रस्ताव गरिएको हो । यसअन्तर्गत हालका व्यवस्थामा रहेका मूल विषयहरूलाई सम्बन्धित कानुनमा समेटिनेछ ।’एउटै विषयमा कानुनी व्यवस्था दोहोरिने अवस्था अन्त्य गर्दै सम्बन्धित विषयलाई सम्बन्धित ऐनबाटै व्यवस्थित गर्ने उद्देश्यले प्रस्ताव ल्याइएको दाहालको भनाइ छ ।




.gif)



.gif)
