images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • मानव बेचबिखनका पीडितको पहिचान खुलाउनेलाई कडा...

मानव बेचबिखनका पीडितको पहिचान खुलाउनेलाई कडा सजायको प्रस्ताव, जरिवाना बढाउन सांसदको माग

मानव बेचबिखनका पीडितको पहिचान खुलाउनेलाई कडा सजायको प्रस्ताव, जरिवाना बढाउन सांसदको माग

images
images
सोमवार, मंसिर ७ २०८३
सोमवार, मंसिर ७ २०८३
  • काठमाडौँ । सांसदहरूले मानव बेचबिखनमा परेका पीडितहरूको गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्नुपर्ने प्रस्ताव राखेका छन् ।प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिमा सोमबार भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले यस्तो प्रस्ताव गरेका हुन् । उनीहरूले पीडितको पहिचान सुरक्षित राख्नुपर्नेमा जोड दिँदै गोपनीयता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना र एक वर्ष कैद सजायको व्यवस्था गर्नुपर्ने धारणा राखे ।बैठकमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती वि.क.ले अपराध नियन्त्रणका लागि कडा कानुन आवश्यक रहेको बताइन् । उनले पीडितको गोपनीयता उल्लंघन गर्नेलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद सजाय कायम गर्नुपर्ने प्रस्ताव राखिन् । हाल विधेयकमा प्रस्तावित १० देखि २५ हजार रुपैयाँसम्मको जरिवाना पर्याप्त नभएको उनको भनाइ छ ।

    images
    images

    अपराध गर्नुअघि नै सजायको डर हुनेगरी कानुनी व्यवस्था गर्नुपर्नेमा वि.क.ले जोड दिइन् । अपराध गरेका व्यक्तिलाई सुधार्ने उद्देश्यसहित कानुन बनाउनुपर्ने भए पनि सजायको व्यवस्था कमजोर बनाउन नहुने उनको तर्क छ । साथै, निर्दोष व्यक्तिमाथि अन्याय हुन नदिन निष्पक्ष छानबिनको व्यवस्था पनि आवश्यक रहेको उनले बताइन् ।‘यो जरिवाना गर्ने कुरामा कसका लागि लचिलो हुने हो हामी ? अपराध गरेकोलाई त सुधार्ने हो नि । निर्दोष मान्छेको पक्षमा पनि हामीले सोच्नुपर्छ र त्यसका लागि स्वच्छ छानबिन बनाउनुपर्छ,’ सांसद वि.क.ले भनिन्, ‘अपराध गर्नेलाई ५० हजारदेखि एक लाख रुपैयाँ जरिवाना र तीन महिनादेखि एक वर्ष कैद राखौँ । कसैले सामाजिक सञ्जालमा जथाभावी लेख्नुअघि आफ्नो गोजी र जेल सजाय सम्झने अवस्था बनाउनुपर्छ । यति गर्‍यौँ भने अपराध नियन्त्रण गर्न सकिएला ।’

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले पनि अरूको फोटो, भिडियो वा व्यक्तिगत गोपनीयता भंग हुने सामग्री सार्वजनिक गर्नेलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्मको जरिवाना एकदमै न्यून भएको बताइन् । जरिवानाको रकम बढाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यममा पीडितको घटना सार्वजनिक गर्दा लिखित सहमति अनिवार्य हुनुपर्ने व्यवस्था गर्न माग गरिन् ।पीडितले न्यायका लागि विभिन्न निकायमा पुग्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर सञ्चारमाध्यम र सामाजिक सञ्जालको सहारा लिनुपर्ने अवस्था रहेको संग्रौलाले बताइन् । घटना सार्वजनिक भएपछि कतिपय पीडितले सामग्री हटाउन आग्रह गर्दा सञ्चारमाध्यम र पीडित दुवै पक्ष समस्यामा पर्ने गरेको उनको भनाइ छ । लिखित सहमति भएमा सामग्री सार्वजनिक गर्ने पक्षसँग त्यसको प्रमाण रहने र पछि उत्पन्न हुने विवादमा दुवै पक्षले आफ्नो धारणा स्पष्ट पार्न सक्ने उनले बताइन् ।

    images
    images

    ‘कसैले अरूको फोटो, भिडियो अथवा व्यक्तिगत गोपनीयता हनन हुने सामग्री बाहिर ल्याउँछ भने १० हजारदेखि २५ हजार रुपैयाँको जरिवाना कम भयो, यसलाई बढाउनुपर्छ,’ सांसद संग्रौलाले भनिन्, ‘त्यस्तै कोही पीडितले घटना बाहिर ल्याउन चाहेमा मौखिक रूपमा मात्रै नभई लिखित सहमति गर्नुपर्छ । विषय भाइरल भएपछि पीडित आफैँ आएर हटाउन आग्रह गर्दा मिडिया र पीडित दुवै पक्षलाई अप्ठ्यारो पर्छ । लिखित सहमति भएमा दुवै पक्षलाई पछि जवाफ दिने आधार रहन्छ ।’रास्वपाकै सांसद ज्ञानु पौडेलले पीडितको गोपनीयता र पहिचान संरक्षणसम्बन्धी व्यवस्था यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा पनि विस्तार गर्नुपर्ने बताइन् । मानव बेचबिखनमा महिला र बालबालिकासँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि पर्न सक्ने भएकाले उनीहरूको गोपनीयता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । उनले पनि पीडितले सञ्चारमाध्यममा आफ्ना कुरा प्रसारण गर्नुअघि लिखित सहमति दिनुपर्ने व्यवस्था गर्न सुझाइन् ।

    पौडेलले व्यक्तिगत फोटो, भिडियो वा अन्य सामग्री सहमतिबिना सार्वजनिक गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न प्रस्ताव गरिन् । सामाजिक सञ्जालमा सामग्री भाइरल बनाउने र त्यसबाट आर्थिक लाभ लिने प्रवृत्तिले व्यक्तिको गोपनीयता तथा पहिचानको अधिकार उल्लंघन हुने गरेको उल्लेख गर्दै उनले यस्तो कार्य नियन्त्रणका लागि साइबर अपराधसम्बन्धी कानुनी व्यवस्थासँग समेत समन्वय गर्नुपर्नेमा जोड दिइन् ।‘हामीले पीडित बालबालिकाको गोपनीयता हक सुनिश्चित गर्न आवश्यक भएकोले भनेर लेखेका छौँ, यसमा महिलासँगै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि थप्नुपर्छ । सजाय पनि कम्तीमा १० हजारदेखि ५० हजार रुपैयाँ पुर्‍याउनुपर्छ,’ सांसद पौडेलले भनिन्, ‘सहमतिबिना कसैको फोटो, भिडियो प्रचारप्रसार गर्न हुँदैन । अहिले सामाजिक सञ्जालमा जति धेरै भाइरल भयो, त्यति धेरै पैसा कमाउने प्रवृत्ति छ । कसैको गोपनीयता र पहिचानमाथि हनन गर्न मिल्दैन ।’छलफलमा सांसदहरूले मानव बेचबिखन बाह्य देशमा मात्रै नभई आन्तरिक रूपमा पनि भइरहेकाले कानुन निर्माण गर्दा यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् । महिला तथा बालबालिका देशभित्रै आन्तरिक रूपमा बेचबिखनमा पर्ने गरेको र विशेषगरी ग्रामीण क्षेत्रका आर्थिक रूपमा कमजोर समुदायका बालबालिका सहरी क्षेत्रमा बेचबिखनमा पर्ने गरेको सांसदहरूको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend