काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजना हुने ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’ कार्यक्रमको कार्यतालिका सार्वजनिक भएको छ ।सार्वजनिक कार्यतालिकाअनुसार कार्यक्रममा नेपालका तर्फबाट उच्च राजनीतिक तथा व्यावसायिक नेतृत्वको सहभागिता रहने भए पनि भारतीय पक्षबाट भने मन्त्रीस्तरीय सहभागिता नहुने देखिएको छ । त्यस्तै, भारतीय उद्योग परिसंघ (सीआईआई) का केन्द्रीय अध्यक्ष तथा शीर्ष पदाधिकारी पनि औपचारिक वक्ताको सूचीमा छैनन् ।
भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीको मानसिंह रोडस्थित होटल ताजमहलमा कार्यक्रम आयोजना हुँदैछ ।प्रस्तावित कार्यतालिकाअनुसार नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रमुख सम्बोधन र परराष्ट्रमन्त्री शिशिर खनालले विशेष सम्बोधन गर्नेछन् ।त्यसैगरी, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष तथा इन्डिया–नेपाल जोइन्ट बिजनेस फोरमकी सहअध्यक्ष भवानी राणा र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मन्तव्य राख्ने कार्यक्रम छ ।
भारतीय पक्षबाट भने सीआईआईको इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष तथा सन इन्टरनेसनल लिमिटेडका अध्यक्ष विक्रमजीत सिंह साहनेले स्वागत मन्तव्य र समापन मन्तव्य दिने कार्यतालिकामा उल्लेख छ ।कार्यक्रमको कार्यतालिकाअनुसार साँझ ७ बजे आगमन तथा नेटवर्किङ हुनेछ भने ७ः३० बजे औपचारिक सत्र सुरु हुनेछ । त्यस्तै, ७ः५७ देखि ८ः२८ बजेसम्मको ३१ मिनेट उद्योगी–व्यवसायी सदस्यहरूको धारणा तथा अन्तरक्रियाका लागि छुट्याइएको छ ।नेपालले भारतीय लगानी भित्र्याउने, द्विपक्षीय व्यापार विस्तार गर्ने र निजी क्षेत्रबीचको सहकार्य बढाउने उद्देश्यसहित प्रधानमन्त्रीको भारत भ्रमणलाई आर्थिक कूटनीतिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ । भ्रमण दलमा नेपालबाट निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ ।
तर, नेपालका अर्थ र परराष्ट्रमन्त्रीसहित निजी क्षेत्रको नेतृत्वले सम्बोधन गर्ने कार्यक्रममा भारत सरकारका समकक्षी मन्त्री वा सीआईआईको केन्द्रीय नेतृत्व वक्ताका रूपमा नदेखिनुले व्यावसायिक संवादमा भारतीय पक्षले अपेक्षित उच्च प्राथमिकता नदिएको हो कि भन्ने प्रश्न उठेको छ ।प्रधानमन्त्रीको औपचारिक राजकीय भ्रमणका अवसरमा आयोजना हुने बिजनेस राउन्डटेबलमा दुवै देशका उच्चस्तरीय सरकारी अधिकारी र निजी क्षेत्रको समानस्तरको सहभागिता हुँदा लगानी तथा व्यापार विस्तारका सन्दर्भमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिन्छ ।




.gif)





.gif)
