काठमाडौँ । सरकारले देशभर झोलुङ्गे पुलको निर्माण, सञ्चालन तथा मर्मतसम्भारलाई व्यवस्थित बनाउन पहिलो पटक ‘राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३’ स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति पारित गरेको हो ।यसअघि झोलुङ्गे पुल निर्माण तथा व्यवस्थापनका लागि २०६२ सालको रणनीति कार्यान्वयनमा रहे पनि छुट्टै राष्ट्रिय नीति थिएन । नयाँ नीतिले झोलुङ्गे पुलको निर्माणदेखि संरक्षण र व्यवस्थापनसम्मका विषयलाई समेट्दै तीनै तहका सरकारको जिम्मेवारीसमेत स्पष्ट पारेको छ ।पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर कमलकुमार अधिकारीका अनुसार विभागले तयार पारेको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो । उनका अनुसार नीति कार्यान्वयनमा आएपछि झोलुङ्गे पुल क्षेत्रका विद्यमान समस्या समाधान गर्न सहज हुनेछ ।
देशभर ११ हजारभन्दा बढी झोलुङ्गे पुल
विभागका अनुसार २०८२ असारसम्म नेपालमा ११ हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भइसकेका छन् । ती पुलबाट दैनिक करिब १३ लाख नागरिक लाभान्वित हुँदै आएका छन् ।तर, झोलुङ्गे पुल निर्माण तथा व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको अधिकार र जिम्मेवारी स्पष्ट नहुँदा योजना छनोट, निर्माण र मर्मतसम्भारमा समस्या देखिँदै आएको थियो । कतिपय स्थानमा सडकपुल निर्माण भएपछि पुराना झोलुङ्गे पुल प्रयोगविहीन बने पनि तिनको उचित व्यवस्थापन हुन सकेको थिएन ।नयाँ नीतिले यस्ता समस्या सम्बोधन गर्दै पुल निर्माण, अनुगमन, मर्मतसम्भार र व्यवस्थापनमा एकरूपता कायम गर्ने लक्ष्य राखेको छ ।
१० वर्षभित्र आधा घण्टाको दूरीमा पुल
नयाँ नीतिले आगामी १० वर्षभित्र नागरिकलाई आधा घण्टाभन्दा बढी पैदल हिँड्न नपर्ने गरी सुरक्षित नदी तथा खोला पार गर्ने सुविधा उपलब्ध गराउने दीर्घकालीन लक्ष्य लिएको छ ।‘आधारभूत पहुँचमा सुधार, ग्रामीण समृद्धिको आधार’ भन्ने दूरदृष्टिसहित ल्याइएको नीतिले ग्रामीण क्षेत्रका नागरिकलाई शिक्षा, स्वास्थ्य, बजार तथा अन्य आधारभूत सेवामा सहज पहुँच पुर्याउने उद्देश्य राखेको छ ।यसका लागि पुल निर्माणमा स्थानीय आवश्यकता र भौगोलिक अवस्थालाई प्राथमिकता दिइनेछ । साथै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउन तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा सहयोग पुग्ने गरी पुल निर्माण गरिनेछ ।नीतिमा समग्र झोलुङ्गे पुल क्षेत्रलाई व्यवस्थित गर्न सातवटा नीतिगत व्यवस्था र १९ वटा रणनीति समावेश गरिएका छन् ।
संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी बाँडफाँट
नयाँ नीतिले झोलुङ्गे पुलको प्रकृति र लम्बाइका आधारमा वर्गीकरण गर्दै तीनै तहका सरकारको कार्यक्षेत्र निर्धारण गरेको छ ।नीतिअनुसार संघीय सरकारले विशेष लम्बाइका, बहुस्पान भएका, जटिल तथा रणनीतिक महत्त्वका झोलुङ्गे पुल निर्माण गर्नेछ । अन्तर्राष्ट्रिय सीमा नदीमा निर्माण गर्नुपर्ने पुलको जिम्मेवारी पनि संघीय सरकारकै हुनेछ ।त्यस्तै, प्रदेश सरकारले लामो स्पान भएका पुल निर्माण गर्नेछ । प्राविधिक क्षमता वा अन्य कारणले स्थानीय तहले निर्माण गर्न नसक्ने पुलसमेत प्रदेश सरकारले बनाउने व्यवस्था गरिएको छ ।स्थानीय तहलाई भने १२० मिटरसम्म लम्बाइ भएका छोटो स्पानका पुल निर्माण गर्ने जिम्मेवारी दिइएको छ । निर्माण सम्पन्न भएका पुलको अभिलेख राख्ने तथा नियमित मर्मतसम्भार गर्ने दायित्व पनि स्थानीय सरकारकै हुनेछ ।
पुलको नयाँ वर्गीकरण
नीतिले झोलुङ्गे पुललाई प्रकृतिका आधारमा रणनीतिक र बहुमुखी गरी दुई प्रकारमा विभाजन गरेको छ ।लम्बाइ तथा संरचनाका आधारमा पुललाई चार वर्गमा राखिएको छ ।
- छोटो स्पान: १२० मिटरसम्म लम्बाइ भएका पुल ।
- लामो स्पान: १२० देखि ३५५ मिटरसम्मका सस्पेन्सन तथा १२० देखि ३७५ मिटरसम्मका सस्पेन्डेड पुल ।
- विशेष लम्बाइ: ३५५ मिटरभन्दा लामो सस्पेन्सन र ३७५ मिटरभन्दा लामो सस्पेन्डेड पुल ।
- बहुस्पान: एकभन्दा बढी स्पान भएका झोलुङ्गे पुल ।
यस वर्गीकरणका आधारमा निर्माण, व्यवस्थापन र मर्मतसम्भारको जिम्मेवारी सम्बन्धित सरकारलाई दिइनेछ ।
मर्मतसम्भारका लागि कोष र पुल हेरालु
नयाँ नीतिले निर्माणपछि पुलको संरक्षणलाई समेत प्राथमिकतामा राखेको छ । स्थानीय तहमा झोलुङ्गे पुल मर्मतसम्भार कोष स्थापना गरी नियमित मर्मतको व्यवस्था गरिनेछ ।त्यसैगरी, पुलको अवस्था नियमित रूपमा निगरानी गर्न पुल हेरालु (ब्रिज वार्डेन) नियुक्त गर्ने व्यवस्था गरिएको छ ।प्रयोगविहीन भएका पुललाई अन्यत्र स्थानान्तरण गर्ने, स्थानीय समुदायलाई हस्तान्तरण गर्ने वा आवश्यक प्रक्रिया पूरा गरी लिलाम गर्ने जिम्मेवारी पनि स्थानीय तहलाई दिइएको छ ।मेला, जात्रा तथा अन्य भिडभाड हुने समयमा पुल प्रयोग गर्दा हुन सक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासनसँग समन्वय गरी विशेष सुरक्षा व्यवस्था मिलाउनुपर्नेछ ।
अन्य निकायले पनि पुल बनाउन पाउने
नयाँ नीतिले सम्बन्धित स्थानीय तहको पूर्वसहमति र आवश्यक स्वीकृति लिएर अन्य सरकारी तथा गैरसरकारी निकायलाई समेत झोलुङ्गे पुल निर्माण गर्न सक्ने व्यवस्था गरेको छ ।त्यसका लागि सम्बन्धित तहबाट विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गराउनुपर्नेछ । साथै वातावरणीय अध्ययन, जग्गा प्राप्ति, पुनर्स्थापना तथा पुनर्वाससम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।निर्माण सम्पन्न भएपछि पुलको वास्तविक अवस्थासम्बन्धी नक्सा, कार्यसम्पन्न प्रतिवेदन र मर्मतसम्भार पुस्तिका सम्बन्धित निकायमा बुझाउनुपर्नेछ ।योजना छनोटमा हुने दोहोरोपन हटाउन झोलुङ्गे पुल व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित गरी निर्माण भएका सबै पुलको एकीकृत राष्ट्रिय अभिलेखसमेत राखिनेछ ।
निर्माणको इतिहास र आगामी योजना
नेपालमा परम्परागत रूपमा तुइन, बाँस, काठेपुल, फड्के तथा फलामे साङ्लाबाट नदी र खोला पार गर्ने चलन थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा स्कटिस प्रविधिमा आधारित आधुनिक झोलुङ्गे पुल निर्माण सुरु भएको इतिहास छ ।२००७ सालसम्म नेपालमा करिब ३० वटा झोलुङ्गे पुल निर्माण भएका थिए । त्यसबेला एसियाली विकास बैंक, बेलायत सरकार र स्वीस सरकारलगायत विकास साझेदारको सहयोगमा पुल निर्माण अघि बढाइएको थियो ।२०२१ सालमा सस्पेन्सन ब्रिज डिभिजन स्थापना भएपछि सरकारीस्तरबाट व्यवस्थित रूपमा पुल निर्माण तथा मर्मतसम्भारको काम सुरु भएको थियो ।त्यसपछि २०६२ सालमा झोलुङ्गे पुल रणनीति लागू भयो । आर्थिक वर्ष २०६६/६७ देखि क्षेत्रगत अवधारणा कार्यान्वयनमा आएपछि पुल निर्माणको गति बढेको विभागको तथ्याङ्क छ । उक्त अवधारणाअघि वार्षिक १५० देखि २०० वटा पुल निर्माण हुने गरेकोमा पछि वार्षिक ४०० देखि ५०० वटासम्म निर्माण हुन थालेका थिए । आर्थिक वर्ष २०७९/८० मा मात्रै ७४१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका थिए ।
नयाँ नीतिले दक्ष प्राविधिक जनशक्ति उत्पादन, इन्जिनियरिङ शिक्षामा झोलुङ्गे पुलसम्बन्धी विषय समावेश, प्राविधिक तथा उपभोक्ता समितिलाई तालिम र जलवायु उत्थानशील प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिएको छ ।सरकारले नयाँ नीतिमार्फत झोलुङ्गे पुलको निर्माणलाई मात्र नभई दीर्घकालीन संरक्षण, सुरक्षित आवागमन र ग्रामीण क्षेत्रको विकासलाई समेत जोड्ने लक्ष्य लिएको छ ।




.gif)





.gif)
