काठमाडौं । राइड सेयरिङ सेवामा यात्रुबाट अस्वाभाविक रूपमा बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चासो देखाएको छ । मन्त्रालयले उपभोक्ता हित संरक्षण र अनुचित भाडा असुली नियन्त्रणका लागि तत्काल कदम चाल्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको छ ।मन्त्री दीपककुमार साहले विभागलाई पठाएको निर्देशनमा पठाओ, याङ्गो, इनड्राइभलगायत प्रमुख राइड सेयरिङ कम्पनीलाई सात दिनभित्र आफ्नो भाडा निर्धारण प्रणाली, सेवा शुल्क, कमिसन, सर्ज प्राइसिङ तथा उपभोक्ता गुनासो सुनुवाइ प्रणालीको विवरण पेस गर्न लगाउन भनिएको छ ।मन्त्रालयले वर्षा, चाडपर्व, रातिको समय, सार्वजनिक यातायातको अभाव तथा अन्य आकस्मिक परिस्थितिमा यात्रुको बाध्यताको फाइदा उठाउँदै अस्वाभाविक भाडा असुल्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निर्देशनमा यात्रुले यात्रा सुरु गर्नुअघि नै तिर्नुपर्ने भाडा तथा अतिरिक्त शुल्क स्पष्ट रूपमा देखिने व्यवस्था मिलाउन पनि भनिएको छ । साथै आपत्कालीन अवस्था, वर्षा, चाडपर्व र रातिको समयमा हुने अस्वाभाविक भाडा वृद्धिको अनुगमन तथा अध्ययन गर्न विभागलाई निर्देशन दिइएको छ ।अनुचित व्यापारिक अभ्यास वा उपभोक्ता शोषण भएको पाइएमा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउनसमेत मन्त्रालयले भनेको छ ।त्यस्तै, यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी भाडा निर्धारण, सेवा सञ्चालन तथा नियमनका विषयमा स्पष्ट कार्यविभाजनसहितको प्रस्ताव पेस गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयले उपभोक्ताका गुनासा दर्ता तथा समाधानका लागि विशेष संयन्त्र स्थापना गर्न पनि भनेको छ । विभागलाई १५ दिनभित्र प्रारम्भिक प्रतिवेदन र ३० दिनभित्र कार्यान्वयनयोग्य सुधार योजना पेस गर्न निर्देशन दिइएको छ ।राइड सेयरिङ कम्पनीलाई निरुत्साहित गर्नु मन्त्रालयको उद्देश्य नभएको स्पष्ट पार्दै प्रविधिमा आधारित सेवाको विकाससँगै उपभोक्ताको अधिकार, निष्पक्ष प्रतिस्पर्धा र व्यावसायिक जवाफदेहिता सुनिश्चित गर्न खोजिएको मन्त्री साहले उल्लेख गरेका छन् ।




.gif)





.gif)
