काठमाडौँ। उच्च अदालत पाटनबाट बैंकिङ कसुरका चारवटा मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले १८ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवाना ठहर भएका ४२ वर्षीय तारा बहादुर ग्यापकलाई पक्राउ गरेको हो।रामेछापको सुनापाती गाउँपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे बस्दै आएका ग्यापकविरुद्ध विनोद खतिवडा समेतको जाहेरीमा नेपाल सरकार वादी भई उच्च अदालत पाटनमा बैंकिङ कसुरसम्बन्धी मुद्दा चलेको थियो। अदालतले विभिन्न मितिमा गरेको फैसलाले उनलाई ८ दिन कैद र १८ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। अदालतको उक्त फैसलापछि उनी फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय रामेछापले फैसला कार्यान्वयनका लागि पक्राउ गरी उपस्थित गराइदिन गरेको पत्राचारका आधारमा खोजीमा खटिएको प्रहरी टोलीले उनलाई मध्यपुर थिमी नगरपालिका–८ बोडेबाटै साँझ नियन्त्रणमा लिएको हो। पक्राउ परेका ग्यापकलाई फैसला कार्यान्वयनका निम्ति जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ।कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ‘अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला पठाइएको’ छ।प्रहरीका अनुसार ग्यापकविरुद्ध उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरका उजुरी दर्ता भएका थिए। उनीविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा २०७८ पुस ५ गते १ लाख ५० हजार र पुस ११ गते ६ लाख रुपैयाँ बिगो भएको मुद्दा दर्ता भएको पाइएको छ।
यसैगरी प्रहरी वृत्त नयाँ बानेश्वरमा २०७८ चैत ८ गते २ लाख रुपैयाँ र जिल्ला प्रहरी परिसर ललितपुरमा २०७९ वैशाख १३ गते ९ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दा दर्ता भई उनी फरार रहँदै आएका थिए।




.gif)





.gif)
