काठमाडौँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगन्जमा कार्यरत दुई जना प्राविधिक अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठोरी गाउँपालिकामा सञ्चालित योजनाको अन्तिम भुक्तानी तथा धरौटी रकम फिर्ता गरिदिएबापत सेवाग्राहीसँग तीन लाख ४५ हजार रुपैयाँ घुस लिएको अभियोगमा आयोगले अधिकृत छैटौँ (प्राविधिक) गजेन्द्र प्रसाद जायसवाल र विकी यादवविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
आर्थिक वर्ष २०८२/०८३ मा पर्साको ठोरी गाउँपालिका–३ मा सम्पन्न ‘जलस्रोतको पुनर्भरण/भण्डारण कार्य (सार्वजनिक इनार/पोखरीको) निर्माण तथा मर्मत सम्भार कार्य’ पछि उनीहरूले रकम भुक्तानीका लागि सेवाग्राहीसँग मोलमोलाइ गरेका थिए। योजनाको भुक्तानी दिने र धरौटी रकम फिर्ता गर्ने बहानामा दुवै जनाले आपसी मिलेमतोमा तीन लाख ४५ हजार रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।कार्यालय समयमा आफूले रकम लिन नमिल्ने भन्दै प्रतिवादी जायसवालले सोही स्थानमा रहेका अर्का व्यक्तिमार्फत उक्त रकम बुझ्न लगाएको अख्तियारको अनुसन्धानमा देखिएको छ।अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘आपसी योजना र सहमतिअनुसार सेवाग्राहीबाट घुस रकम लिएको पुष्टि भएपछि बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।’
दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा तीन लाख ४५ हजार रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरूलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद तथा बिगोबराबर जरिवाना सजाय गर्न आयोगले मागदाबी लिएको छ।




.gif)





.gif)
