काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई महिनाको अवधिमा देशभर ८८७ वटा व्यापारिक फर्ममा बजार अनुगमन गरी ७४ वटा फर्मलाई कुल २२ लाख ८२ हजार ८ रुपैयाँ आर्थिक जरिवाना गरेको छ ।विभागको आपूर्ति, अनुगमन तथा उपभोक्ता संरक्षण शाखाद्वारा सार्वजनिक गरिएको २०८३ असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मको देशव्यापी बजार अनुगमन विवरणअनुसार अनुगमनका लागि देशभर कुल २२७ वटा टोली परिचालन गरिएको थियो ।
अनुगमनका क्रममा कुनै पनि फर्म सामान्य अवस्थामा नभेटिएको विभागको तथ्याङ्कले देखाएको छ । अनुगमन गरिएका ८८७ फर्ममध्ये ७४ वटालाई नगद जरिवाना गरिएको छ भने ८६ वटा फर्मसँग कागजात माग गरिएको र ७३० वटा फर्मलाई अन्य विभिन्न सुधारका निर्देशन दिइएको छ । सो अवधिमा म्याद गुज्रिएका वा अखाद्य वस्तु नष्ट गर्ने, सामान फिर्ता पठाउने तथा महानिर्देशक समक्ष पेस गर्ने कारबाही भने शून्य रहेको विभागले जनाएको छ ।विभागको विवरणअनुसार जरिवानामा पर्नेमध्ये सबैभन्दा बढी खाद्यान्न तथा किराना क्षेत्रका फर्महरू रहेका छन् । खाद्यान्न लगायतका सामान बिक्री गर्ने १२ वटा फर्मलाई सबैभन्दा धेरै ५ लाख ८० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, विविध क्षेत्रअन्तर्गत १ फर्मलाई ३ लाख रुपैयाँ, किराना तथा खाद्यान्न कारोबार गर्ने ७ फर्मलाई २ लाख ३५ हजार रुपैयाँ, खाद्यान्न कारोबार गर्ने ५ फर्मलाई २ लाख २० हजार ८ रुपैयाँ, कम्प्युटर खरिद बिक्री गर्ने १ फर्मलाई २ लाख १ हजार रुपैयाँ र होटल तथा रेष्टुरेन्ट क्षेत्रका ७ फर्मलाई १ लाख १० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
त्यस्तै, ब्यागको कारोबार सम्बन्धी १ फर्म र विवरण नखुलेको अर्को १ फर्मलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । तीनवटा किराना पसललाई ३५ हजार रुपैयाँ, रेडिमेड तथा थान कपडाका २ फर्म र ग्यास स्टोरका २ फर्मलाई ३०–३० हजार रुपैयाँ, दैनिक उपभोग्य वस्तु बिक्री गर्ने २ फर्मलाई २५ हजार रुपैयाँ तथा खाद्यान्न र मसला कारोबार गर्ने १ फर्मलाई २० हजार रुपैयाँ जरिवाना गरिएको विवरणमा उल्लेख छ ।यसैगरी, स्थानीय व्यापार, कपडा बिक्री, खाद्यान्न तथा किराना सामान, चमेनागृह, वर्कशप (मर्मत तथा सर्भिसिङ्ग), भाँडाकुँडा, डिपार्टमेन्टल स्टोर, खाद्य तथा ग्यास, कस्मेटिक, अटो पार्ट्स, तरकारी तथा फलफूल, मिठाई, बेकरी, मोबाइल तथा ल्यापटप, मदिरा पेय पदार्थ, घरायसी सामान बिक्री वितरण, समुद्र पार आयात–निर्यात, क्याफेटेरिया, प्लाष्टिकका पाइप फिटिङ्स तथा खाजा र खाना बिक्री गर्ने अन्य फर्महरूलाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।





.gif)





.gif)
