काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत २७औँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । प्लेअफ दौडबाट बाहिरिसकेको कर्णालीले प्रतियोगितामा तेस्रो जित निकाल्दै सान्त्वना प्राप्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो ।
चितवनका लागि उस्मा मिरले अविजित २८ रन बनाए । उनले २३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । कमिल मिशराले २५, कुशल मल्लले १८, देवल खनालले १४ र अशोक धामीले ११ रन जोडे ।
कर्णालीका हुसैन तलातले सर्वाधिक तीन विकेट लिए । मार्क वाट र पवन सर्राफले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
यसअघि कर्णालीका लागि हुसैन तलातले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । आरिफूल इस्लामले ३५ र गुल्सन झाले १८ रन बनाए । पवन सर्राफले १५ रनको योगदान दिए ।
चितवनका कमल सिंह ऐरी, सलाउद्दिन खान र उस्मा मिरले दुई–दुई तथा रिजन ढकाल र सिकन्दर राजाले एक–एक विकेट लिए ।
यस हारले चितवनको प्लेअफ यात्रामा भने असर पर्ने छैन । एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवनले अब एलिमिनेटर खेल्नेछ । एलिमिनेटरमा उसले सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाजमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
आजै हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।




.gif)





