images

२०८३ कार्तिक २९ गते

images
images
images

छठ पर्वमा मधेस पुगे शीर्ष राजनीतिक नेता, सुरक्षा सतर्कता बढाइयो

छठ पर्वमा मधेस पुगे शीर्ष राजनीतिक नेता, सुरक्षा सतर्कता बढाइयो

images
images
आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • काठमाडौं । मधेस प्रदेशको लोकआस्था, धार्मिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको छठ महापर्व यस वर्ष राजनीतिक नेतृत्वको उल्लेख्य उपस्थितिका कारण थप चर्चामा आएको छ। काठमाडौंकेन्द्रित राजनीतिक गतिविधिमा व्यस्त विभिन्न दलका शीर्ष नेताहरू छठ मनाउन मधेसका विभिन्न जिल्ला तथा धार्मिकस्थल पुगेका छन्।

    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शनिबार जनकपुरधाम पुगेका छन्। उनी ऐतिहासिक गंगासागरमा आयोजित छठ महापर्वको पूजामा सहभागी हुन त्यहाँ पुगेका हुन्। लामिछाने जनकपुर पुग्दा मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

    त्यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापा छठ मनाउन सर्लाही जाने कार्यक्रम रहेको छ। आइतबार बिहान काठमाडौंंबाट सिमरा हुँदै सर्लाही क्षेत्र नम्बर ४ का विभिन्न छठघाटमा पुगेर पूजाअर्चना गर्ने उनको कार्यक्रम तय भएको छ।

    images
    images

    सभामुख डीपी अर्याल पनि वीरगन्जस्थित घडिअर्वा पोखरीमा आयोजना हुने छठ पर्वमा सहभागी हुने भएका छन्। छठका लागि घडिअर्वा पोखरी परिसरमा आकर्षक सजावट गरिएको छ। स्वास्थ्य मन्त्री निशा मेहता छठ मनाउन महोत्तरीस्थित आफ्नो पुर्ख्यौली घर पुगेकी छन् भने नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गृहजिल्ला रौतहट पुगेका छन्।

    राजनीतिक दलका शीर्ष नेतादेखि राज्यका उच्च पदस्थ व्यक्तित्वसम्मको सहभागिताले यस वर्ष मधेस प्रदेश धार्मिक र राजनीतिक गतिविधिको केन्द्र बनेको छ। काठमाडौंकेन्द्रित नेतृत्वको छठमा सहभागितालाई स्थानीय जनतासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसरका रूपमा समेत हेरिएको छ।

    छठघाटमा विशेष तयारी

    छठ पर्वलाई लक्षित गरी मधेस प्रदेशका विभिन्न जिल्लाका पोखरी, नदी, खोला तथा अन्य जलाशयलाई सजाइएको छ। विशेषगरी जनकपुरधामको गंगासागर र वीरगन्जको घडिअर्वा पोखरीमा गरिएको सजावटले पर्वको रौनक बढाएको छ।

    छठघाटमा सरसफाइ, प्रकाश व्यवस्था, स्वागतद्वार तथा पूजास्थल निर्माण गरिएको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन हजारौँ व्रतालु तथा श्रद्धालु घाटमा पुग्ने भएकाले स्थानीय तह र सुरक्षा निकायले आवश्यक तयारी गरेका छन्।

    छठको रौनकसँगै सुरक्षा सतर्कता

    पर्वका अवसरमा राजनीतिक दलका शीर्ष नेताहरूको आवागमन, धार्मिकस्थलमा हुने भीडभाड र सहरबाट गाउँ फर्किने सर्वसाधारणको चहलपहल बढेसँगै मधेस प्रदेशमा सुरक्षा सतर्कता बढाइएको छ।

    छठ मनाउन ठूलो संख्यामा मानिसहरू सहरी क्षेत्रबाट गाउँ तथा पुर्ख्यौली थलो जाने भएकाले घर तथा सम्पत्तिको सुरक्षालाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ। प्रमुख छठघाटमा हुने भीड व्यवस्थापन, विशिष्ट व्यक्तिको आवागमन, सवारी व्यवस्थापन र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ।

    मधेस प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० प्रभु प्रसाद ढकालका अनुसार विशिष्ट व्यक्तिको सहभागिता र ठूलो संख्यामा सर्वसाधारण गाउँ जाने अवस्थालाई ध्यानमा राखेर प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ।

    धार्मिकस्थल तथा छठघाटमा शान्तिसुरक्षा कायम गर्ने, सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्ने र गाउँ गएका नागरिकको घर तथा सम्पत्तिको सुरक्षा गर्ने उद्देश्यले प्रहरी परिचालन गरिएको उनले बताए।

    छठ पर्वमा साँझ अस्ताउँदो सूर्य र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने समयमा घाटमा अत्यधिक भीड हुने भएकाले सुरक्षा निकायले विशेष सतर्कता अपनाएको छ।

    यस वर्षको छठ महापर्व धार्मिक तथा सांस्कृतिक उत्सवसँगै राजनीतिक नेतृत्वको जनसम्पर्क र सुरक्षा व्यवस्थापनका दृष्टिले पनि महत्वपूर्ण बनेको छ। मधेसको लोकआस्था र सांस्कृतिक पहिचान बोकेको यस पर्वलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउनु प्रहरी प्रशासनका लागि प्रमुख जिम्मेवारी बनेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend