काठमाडौं, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६३ जना कर्मचारी माग गर्दै खुला प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको छ।
राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार सूचना प्रकाशित गर्दै प्रशासन, लेखा तथा लेखापरीक्षण, वाणिज्य कानुन र सूचना प्रविधि सेवाअन्तर्गतका पदमा आवेदन खुलाएको हो।
बैंकले प्रकाशित गरेको सूचनाअनुसार सहायक निर्देशक (प्रशासन) २६ जना, सहायक निर्देशक (लेखा–लेखापरीक्षण) ३ जना, सहायक निर्देशक (वाणिज्य कानुन) २ जना, सहायक निर्देशक (सूचना प्रविधि) ६ जना र सहायक पदमा २६ जना कर्मचारी माग गरेको छ।
यी पदहरूमा खुला तथा समावेशी समूहबाट पदपूर्ति गरिनेछ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक २७ गतेदेखि बैंकको विद्युतीय माध्यममार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिँदा बैंकले तोकेको शैक्षिक योग्यता, नागरिकता तथा अन्य आवश्यक कागजात पेस गर्नुपर्नेछ।
दरखास्त दिने अन्तिम मिति २०८३ मंसिर १९ गते तोकिएको छ। दोब्बर दस्तुर तिरेर मंसिर २६ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
सहायक निर्देशक पदका लागि लोक सेवा आयोगको एकीकृत परीक्षा प्रणालीअन्तर्गत सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्रसमेत आवश्यक पर्ने व्यवस्था गरिएको छ।
दरखास्त तथा पदसम्बन्धी विस्तृत विवरण नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट www.nrb.org.np मा उपलब्ध सूचनामार्फत हेर्न सकिनेछ।





.gif)





