images

२०८३ कार्तिक २९ गते

images
images
images
  • बजार
  • बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर...

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

images
images
अर्थ समाचार
शुक्रवार, कार्तिक २७ २०८३
अर्थ समाचार
शुक्रवार, कार्तिक २७ २०८३
  • बागलुङ, २७ कात्तिक । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा विकास हुँदै गएको नगरपालिकाले जनाएको छ ।

    images
    images

    नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको व्यवस्थापन गर्दै आएको छ । कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा समस्या देखिएपछि नगरपालिकाले उद्धार गरी होस्टेलमा राखेर स्याहारसुसार गर्न थालेको हो । नगरपालिकाको यो प्रयासबारे जानकारी लिन अन्य स्थानीय तहका प्रतिनिधिसमेत अध्ययनका लागि आउन थालेका छन् ।

    बागलुङ बजारमा सडकका कुकुरबाट समस्या बढेपछि नगरपालिकाले दीर्घकालीन व्यवस्थापनको योजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताएका छन् । नगरपालिकाले पहिलो चरणमा ५० वटा कुकुर राख्न सकिने क्षमताको होस्टेल निर्माण गरी ३० वटा कुकुर राखेर व्यवस्थापन सुरु गरेको छ ।

    images
    images

    नगरपालिकाले लामो समयदेखि सडकमा छाडिएका कुकुर सङ्कलन गर्ने अभियान सञ्चालन गर्दै बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा होस्टेल निर्माण गरेको हो । जग्गामा तारबार सहितको संरचना बनाउन रु एक करोड खर्च भएको नगरपालिकाको पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

    नवप्रवर्तन कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा होस्टेल निर्माण गरेको हो । यसका लागि नगरपालिकाले रु ३५ लाख र मुख्यमन्त्री कार्यालयले रु ६५ लाख खर्च गरेका छन् ।

    होस्टेलमा कुकुरका लागि आवास, खानपान र खुला क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ । सामुदायिक कुकुरको व्यवस्थित संरक्षणका लागि नगरपालिकाले दुई वर्षअघि नै नीति तथा कार्यक्रममा होस्टेल निर्माण गर्ने लक्ष्य समावेश गरेको थियो ।

    सडकमा छाडिएका कुकुरलाई होस्टेलमा राखेर खानपान र स्याहारको व्यवस्था गर्न थालेपछि बागलुङ बजारको समस्या क्रमशः घट्दै गएको पशु शाखा प्रमुख सापकोटाले बताएका छन् । उनका अनुसार कुकुरको टोकाइबाट हुने जोखिम कम गर्न बजारका करिब एक हजार ८०० कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

    मानिस र कुकुर दुवैको सुरक्षालाई ध्यानमा राखेर होस्टेल सञ्चालन गरिएको उनले बताएका छन् । सडकमा छाडिएका कुकुरले यात्रुलाई टोक्ने तथा सवारी दुर्घटनाको जोखिम बढाउने गरेकाले समस्या समाधानका लागि होस्टेल निर्माण गरिएको हो । होस्टेलमा रहेका कुकुरको हेरचाहका लागि एक जना कर्मचारी खटाइएको छ भने नगरपालिकाको पशु शाखाले नियमित प्राविधिक उपचारको व्यवस्था मिलाएको छ ।

    सडकमा छाडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन् । नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले सडकका कुकुरलाई खोप लगाउने, उद्धार गर्ने र होस्टेलमा पुर्‍याउने काम गरिरहेको छ । पहिलो चरणमा ५० वटा कुकुर व्यवस्थापन गर्ने नगरपालिकाको लक्ष्य छ ।

    होस्टेलमा कुकुरको मेनुः बिहान दूधभात, बेलुका ‘चिकनभात’

    होस्टेलमा रहेका कुकुरलाई नियमित खानपान र स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । बिहान दूधभात र बेलुका ‘चिकनभात’ खुवाउने गरिएको नगरपालिकाले जनाएको छ । कुकुरलाई आवश्यकताअनुसार पोषणयुक्त खाना खुवाउनुका साथै पशु शाखाबाट नियमित स्वास्थ्य परीक्षण तथा प्राविधिक उपचारसमेत भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend