images

२०८३ कार्तिक २९ गते

images
images
images

तीन महिनामै राष्ट्र बैंकको वासलात २ खर्ब ४८ अर्बले बढ्यो,

तीन महिनामै राष्ट्र बैंकको वासलात २ खर्ब ४८ अर्बले बढ्यो,

कुल सम्पत्ति ४१ खर्ब नाघ्यो

images
images
बिहिवार, कार्तिक २६ २०८३
बिहिवार, कार्तिक २६ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व (वासलात) चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ खर्ब ४८ अर्ब रुपैयाँले बढेको छ। गत असार मसान्तको तुलनामा ६.४० प्रतिशतले वृद्धि हुँदै २०८३ असोज मसान्तसम्म राष्ट्र बैंकको कुल वासलात ४१ खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो।

    images
    images

    राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको मासिक अन्तरिम वित्तीय विवरणअनुसार गत असार मसान्तमा केन्द्रीय बैंकको कुल वासलात ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो।

    वासलात विस्तार हुनुमा विदेशी मुद्रा सम्पत्तिको प्रमुख योगदान देखिएको छ। गत असार मसान्तमा ३७ खर्ब ३० अर्ब २ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सम्पत्ति असोज मसान्तमा बढेर ३९ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। तीन महिनामा विदेशी मुद्रा सम्पत्ति २ खर्ब ४८ अर्ब १३ करोड रुपैयाँले बढेको हो।

    images
    images

    विदेशी मुद्रा सम्पत्तिमध्ये सबैभन्दा ठूलो हिस्सा विदेशी प्रतिभूतिमा रहेको छ। असोज मसान्तसम्म राष्ट्र बैंकले विदेशी सरकारी तथा अन्य ऋणपत्रमा २८ खर्ब ५८ अर्ब २ करोड रुपैयाँ लगानी गरेको छ। त्यस्तै, विदेशी बैंकहरूमा ६ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ मुद्दती निक्षेप राखेको छ।

    सुनको प्रमाणपत्रमा लगानी २६ अर्बले वृद्धि
    राष्ट्र बैंकले तीन महिनाको अवधिमा सुनको प्रमाणपत्रमा गरेको लगानी २६ अर्ब ३१ करोड रुपैयाँले बढाएको छ। असोज मसान्तसम्म यस्तो लगानी २ खर्ब ५० अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा सुनको प्रमाणपत्रमा २ खर्ब २४ अर्ब ५७ करोड रुपैयाँ लगानी रहेको थियो।

    त्यस्तै, राष्ट्र बैंकको स्वदेशी मुद्रातर्फ रहेको सुन तथा चाँदी सम्पत्ति ९१ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। यो गत असार मसान्तकै बराबर हो। सुनको प्रमाणपत्रमा गरिएको लगानी र सुन तथा चाँदी सम्पत्ति जोड्दा राष्ट्र बैंकको सुनसम्बन्धी कुल सम्पत्ति तथा लगानी ३ खर्ब ४२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत असारमा यस्तो रकम ३ खर्ब १६ अर्ब २५ करोड रुपैयाँ थियो।

    चलनचल्तीको नोट ९६ अर्बले बढ्यो
    चाडपर्वका कारण बजारमा नगदको माग बढेसँगै तीन महिनामा चलनचल्तीमा रहेको नोटको परिमाण पनि करिब ९६ अर्ब रुपैयाँले वृद्धि भएको छ।

    गत असार मसान्तमा ८ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ रहेको चलनचल्तीको नोट असोज मसान्तमा बढेर ८ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ। दसैँ, तिहार लगायतका चाडपर्वमा नगदको माग बढ्ने भएकाले यस अवधिमा चलनचल्तीको नोटमा वृद्धि देखिएको हो।

    बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ८९ अर्बले बढ्यो
    राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले राखेको निक्षेप तीन महिनामा २ खर्ब ८९ अर्ब ८४ करोड रुपैयाँले बढेको छ। गत असार मसान्तमा ३ खर्ब ९२ अर्ब ५७ करोड रुपैयाँ रहेको यस्तो निक्षेप असोज मसान्तमा बढेर ६ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो।

    यसैगरी, राष्ट्र बैंकमा रहेको सरकारी निक्षेप पनि ८७ अर्ब ९५ करोड रुपैयाँले बढेर २ खर्ब ७३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा सरकारी निक्षेप १ खर्ब ८६ अर्ब १ करोड रुपैयाँ थियो।

    यता, बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने राष्ट्र बैंकको दायित्व भने घटेको छ। गत असार मसान्तमा १२ खर्ब ७७ अर्ब ४० करोड रुपैयाँ रहेको यस्तो दायित्व असोज मसान्तमा घटेर १० खर्ब ६५ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ। तीन महिनामा यस शीर्षकको दायित्व २ खर्ब ११ अर्ब ६० करोड रुपैयाँले घटेको हो।

    विदेशी मुद्रा दायित्व १ अर्ब ५४ करोडले घट्यो
    राष्ट्र बैंकको विदेशी मुद्रा दायित्व पनि तीन महिनामा १ अर्ब ५४ करोड रुपैयाँले घटेको छ। गत असार मसान्तमा ५१ अर्ब २९ करोड रुपैयाँ रहेको यस्तो दायित्व असोज मसान्तमा ४९ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ।

    असोज मसान्तसम्मको विदेशी मुद्रा दायित्वमध्ये अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सम्बन्धी दायित्व ४५ अर्ब १२ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाको विदेशी मुद्रा निक्षेप ४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ।

    रिजर्भ कोषमा १० खर्ब ८३ अर्ब
    राष्ट्र बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको रिजर्भ कोषमा १० खर्ब ८३ अर्ब १७ करोड रुपैयाँ रहेको छ।

    चुक्ता पुँजी र रिजर्भ कोष जोड्दा असोज मसान्तसम्म राष्ट्र बैंकको कुल पुँजी तथा इक्विटी १० खर्ब ८८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend