मेलबर्न । अस्ट्रेलियाको मेलबर्नस्थित वोलर्टमा बसोबास गर्ने नेपाली समुदायले तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम आयोजना गरी नेपाली संस्कृति र परम्परालाई हर्षोल्लासका साथ निरन्तरता दिएको छ।
नेपालीहरूको तुलनात्मक रूपमा सानो बस्तीमा आयोजित सांस्कृतिक जमघटले प्रवासमा रहेर पनि नेपाली चाडपर्व, मौलिक परम्परा र सांस्कृतिक पहिचानप्रतिको आत्मीयता कायमै रहेको सन्देश दिएको छ।
कार्यक्रमको विशेष आकर्षण अस्ट्रेलियामै जन्मिएका नेपाली मूलका बालबालिकाको उत्साहपूर्ण सहभागिता रह्यो। अभिभावकसँगै देउसी–भैलोमा सहभागी बालबालिकाले नेपाली गीत, भाषा, संस्कृति र परम्परालाई नजिकबाट बुझ्ने अवसर पाए।
जन्मभूमि अस्ट्रेलिया भए पनि पुर्ख्यौली मातृभूमि नेपालसँगको सांस्कृतिक सम्बन्ध कायम राख्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको विश्वास छ।
यसै सन्दर्भमा नेपालको पहिलो विश्वव्यापी परिकारसम्बन्धी शब्दकोश ‘फलाङ फुड डिक्सनरी’का लेखक शिव न्यौपानेले नयाँ पुस्ताको सांस्कृतिक जिम्मेवारीबारे फरक दृष्टिकोण प्रस्तुत गरेका छन्।
उनका अनुसार अस्ट्रेलियामा हुर्किएको दोस्रो पुस्ताका नेपालीहरूको पनि पहिलो पुस्तालाई आफ्नै संस्कृति, परम्परा र संस्कारबारे सिकाउने दायित्व हुन्छ। संस्कृति संरक्षण अभिभावकबाट सन्तानतर्फ मात्र हुने प्रक्रिया नभई पुस्तौँबीचको पारस्परिक सिकाइ र सहकार्यबाट अघि बढ्ने विषय भएको उनको धारणा छ।
न्यौपानेको यो दृष्टिकोणले नयाँ पुस्ता संस्कृतिको उपभोक्ता मात्र नभई त्यसको संरक्षण र पुस्तान्तरणको सक्रिय संवाहक पनि बन्नुपर्ने सन्देश दिएको छ।
वास्तवमा, संस्कृतिको पुस्तान्तरण केवल चाडपर्वको नाम र महत्त्व बताएर सम्भव हुँदैन। बालबालिकालाई देउसी–भैलो, नेपाली गीतसङ्गीत, भाषा र मौलिक सांस्कृतिक गतिविधिमा सहभागी गराउनु आवश्यक हुन्छ। यस्ता गतिविधिले नयाँ पुस्तामा आफ्नो पहिचानप्रतिको सम्मान, अपनत्व र सामुदायिक एकताको भावना विकास गर्न सहयोग पुर्याउँछन्।
भौगोलिक दूरीले नेपालीलाई जन्मभूमिबाट टाढा पुर्याए पनि भाषा, संस्कृति, परम्परा र पुर्ख्यौली स्मृतिले मातृभूमिसँगको सम्बन्ध जीवन्त राख्छन्।
मेलबर्नको वोलर्टमा गुञ्जिएको देउसी–भैलो त्यसैको एउटा उदाहरण बनेको छ। यो केवल तिहार मनाउने कार्यक्रम मात्र नभई प्रवासमा हुर्कंदै गरेको नयाँ पुस्तालाई नेपाली सांस्कृतिक जरा चिनाउने र आफ्नो पहिचानप्रति जिम्मेवार बनाउने प्रयाससमेत हो।




.gif)





