images

२०८३ कार्तिक २९ गते

images
images
images

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

images
images
सोमवार, कार्तिक २३ २०८३
सोमवार, कार्तिक २३ २०८३
  • म्याग्दी, २३ कात्तिक । युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविधिलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनुपर्नेमा म्याग्दीका साहित्यकारले जोड दिएका छन् । 

    images
    images

    नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा आइतबार बेनीमा आयोजित कार्यक्रममा साहित्यको विकास, विस्तार र प्रवर्द्धनका लागि सूचना प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने सुझाव दिइएको हो ।

    म्याग्दी सामुदायिक पुस्तकालय र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा साहित्यिक कृति विमोचन, देवकोटाको व्यक्तित्व र योगदानको चर्चा, रचना वाचन तथा साहित्य क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा अन्तक्र्रिया गरिएको थियो ।

    images
    images

    कार्यक्रममा म्याग्दीका स्रष्टा हरिप्रसाद पौडेलद्वारा लिखित ‘जेनजी विद्रोह’ दस्तावेजको सङ्गालो विमोचन गरिएको थियो । पुस्तकमा जेनजी विद्रोहसँग सम्बन्धित दस्तावेजका साथै समसामयिक सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था, चुनौती र सम्भावनाबारे विचार तथा विश्लेषणमूलक लेख समेटिएको लेखक पौडेलले बताएका छन्।

    कार्यक्रममा अग्रज साहित्यकार ध्रुवलाल शर्माले महाकवि देवकोटाको जीवनी, साहित्यिक योगदान तथा समकालीन साहित्यको अवस्था र चुनौतीबारे चर्चा भएको थियो । उनले प्रविधिको बढ्दो प्रयोग र कृत्रिम बौद्धिकताको विकासले साहित्य सिर्जनामा नयाँ चुनौती थपेको बताउँदै प्रविधिलाई सिर्जनाको प्रवर्द्धन र विस्तारको माध्यम बनाउनुपर्ने धारणा राखेका छन्।

    “पाठक, स्रोता र दर्शक डिजिटल सामग्रीमा केन्द्रित भइरहेका छन् । कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगले सिर्जनशीलतामा चुनौती थपिएको छ”, उनले भने, “प्रविधिको प्रयोग गरेर मौलिक, सिर्जनशील, तथ्यपरक र जागरणमूलक सामग्री पाठक, स्रोता र दर्शकमाझ पुर्याउनसके साहित्य थप प्रभावकारी बन्न सक्छ ।”

    पौलत्स्य साहित्य समाजका उपाध्यक्ष शिव सस्मित, विश्व साहित्य मञ्च गण्डकी प्रदेशका अध्यक्ष प्रकाश अधिकारी, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका हिराबहादुर जिसी र साहित्यकार गणनाथ पौडेलले सूचना प्रविधिको माध्यमबाट साहित्यिक रचना, सिर्जना तथा कृतिलाई आमनागरिकसम्म पुर्याउनुपर्ने बताएका छन्।

    मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका अध्यक्ष जीवन मल्लले नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनका लागि साहित्यिक गतिविधिलाई भर्चुअल तथा डिजिटल माध्यमबाट विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिका श्रेष्ठले नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गराउने उद्देश्यले त्याग परियोजनाको सहयोगमा किशोरीको रचना वाचन कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन्।

    हरेक वर्ष लक्ष्मीपूजाका दिन महाकवि देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको धोबीधारामा पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवीका साइँला छोराका रूपमा जन्मिनुभएका देवकोटा नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका प्रमुख प्रवर्तक हुन । 

    कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, नाटक र उपन्यासलगायत साहित्यका विभिन्न विधामा कलम चलाएका उनका ‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’, ‘लुनी’ र ‘प्रमिथस’लगायत कृति नेपाली साहित्यका चर्चित सिर्जना हुन् ।

    मानवता, समानता, प्रकृतिप्रेम र सामाजिक चेतनालाई आफ्ना साहित्यिक सिर्जनामा अभिव्यक्त गरेका देवकोटाले नेपाली साहित्यलाई नयाँ उचाइ प्रदान गरेका छन्। राणा शासनका समयमा सर्वसाधारणले पनि शिक्षा र ज्ञान आर्जन गर्न पाउनुपर्छ भन्ने अभियानमा सक्रिय रहेका उनले त्यसक्रममा जेल जीवन बिताउनुपरेको थियो ।

    विसं २०१५ मा गठित नेपालको पहिलो जननिर्वाचित सरकारमा शिक्षामन्त्री बनेका देवकोटाको विसं २०१६ भदौ २९ गते ५० वर्षको उमेरमा निधन भएको थियो । उनका साहित्यिक सिर्जना नेपाली भाषा र साहित्यका अमूल्य निधिका रूपमा रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend