images

२०८३ कार्तिक २९ गते

images
images
images

आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै

आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै

images
images
आइतवार, कार्तिक २२ २०८३
आइतवार, कार्तिक २२ २०८३
  • काठमाडौँ, २२ कात्तिक । ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरी आज देशभर लक्ष्मीपूजा पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चकको तेस्रो दिन वैदिक सनातन धर्मावलम्बीले लक्ष्मीपूजा गर्ने परम्परा छ।

    images
    images

    सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीको बास हुने धार्मिक मान्यताअनुसार आज बिहानैदेखि घर, आँगन तथा पूजा कोठाको सरसफाइ गरी साँझ दीपावलीसहित लक्ष्मीको पूजा आराधना गरिन्छ।

    धर्मशास्त्रविद् प्रा.तोयराज नेपालका अनुसार लक्ष्मीपूजाका दिन घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायत स्थान सफा गरी गाईको गोबर तथा रातोमाटोले लिपपोत गर्ने परम्परा छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ।

    images
    images

    लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यसलाई पनि विशेष मानिन्छ।

    आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाउने चलन छ। यसरी बनाइएका पाइलाले लक्ष्मीलाई घरभित्र आमन्त्रण गर्ने धार्मिक विश्वास रहेको छ। पाइलैपिच्छे केराको सुत्ला वा माटाका पालामा दियो बालेर घर झिलिमिली बनाइन्छ।

    पछिल्लो समय माटाका दियोको सट्टा मैनबत्ती बाल्ने प्रचलन बढे पनि तेल राखेर दियो बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् नेपालले बताए।

    दीपावलीपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी तथा कुबेरको स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक पूजा गरिन्छ।

    लक्ष्मीपूजापछि कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गर्ने र दक्षिणा दिने चलन पनि छ। धार्मिक विश्वासअनुसार लक्ष्मीपूजाका दिन घरबाट धनदौलत वा अन्य सामान बाहिर पठाउँदा लक्ष्मी बाहिरिने मान्यता छ।

    धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमका अनुसार लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाउँदै ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि छ।

    साँझ घरघरमा भैलो

    लक्ष्मीपूजाको अवसरमा आज साँझ युवतीका समूह घरघरमा पुगेर भैलो खेल्ने परम्परा छ। धार्मिक मान्यताअनुसार भगवान् विष्णुले यमपञ्चकका पाँच दिन स्वर्ग, मर्त्य र पाताल गरी तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएका थिए। सोही अवसरमा बलिराजाले सबैको भलो होस् भन्ने कामनासहित घरघरमा गीत गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो।

    ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भएर ‘भैलो’ भएको धर्मशास्त्रविद् गौतमले बताए।

    भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा तथा सेलरोटी दिने चलन छ। कात्तिक महिनामा भैलो खेल्न आउनेलाई दान दिनु पुण्य प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ।

    लक्ष्मीपूजाका अवसरमा आज सहर तथा बजारका घर, पसल र सार्वजनिक स्थानमा दीपावली गरी झिलिमिली बनाइएको छ।

    कुल परम्पराअनुसार कतिपय स्थानमा आजै बिहान गाईको पूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए।

    यस वर्ष लक्ष्मीपूजा आइतबारको सार्वजनिक बिदाकै दिन परेको छ। सोमबारदेखि कात्तिक २६ गते भाइटीकाको भोलिपल्टसम्म सरकारले तिहार बिदा दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend