काठमाडौं, २० कात्तिक । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत धरानका टेम्पु तथा सिटी सफारी चालकलाई २०० थान डस्टबिन वितरण गरेको छ ।
बैंकको धरान शाखामार्फत आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिनकुमार श्रेष्ठ र धरान उपमहानगरपालिका–१२ का कार्यवाहक वडाध्यक्ष आयन्द्रविक्रम बेघाको उपस्थितिमा डस्टबिन हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले सार्वजनिक यातायातका साधनमा डस्टबिनको व्यवस्था गर्दा फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने बताए । यसले यात्रुहरूमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्नसमेत मद्दत पुग्ने उनको भनाइ थियो ।
त्यस्तै, यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले सार्वजनिक यातायातलाई स्वच्छ र वातावरणमैत्री बनाउन डस्टबिन वितरण कार्यक्रम सहयोगी हुने बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गरेको पहलप्रति धन्यवाद व्यक्त गरे ।
बैंकले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सचेतना तथा सामुदायिक हितका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
बैंकले आगामी दिनमा पनि सम्बन्धित सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।




.gif)





