काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारअन्तर्गत धनतेरस पर्वलाई लक्षित गर्दै बिहीबारदेखि सुनका असर्फी तथा चाँदीका सिक्का बिक्री सुरु गरेको छ।
राष्ट्र बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्न थालेको हो। धनतेरसका अवसरमा सुनका असर्फीको माग बढी हुने भएकाले सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बिक्री सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्रामका एक–एक थान सुनका असर्फी खरिद गर्न सक्नेछन्।
असर्फीको मूल्य सुनको प्रचलित बजार मूल्यमा निर्माण लागत जोडेर निर्धारण गरिनेछ। व्यक्तिगत खरिदकर्ताका लागि सुनको बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ थप गरी दैनिक मूल्य कायम गरिने राष्ट्र बैंकले जनाएको छ। यस्तै, संस्थागत खरिदकर्ताका लागि प्रतिग्राम ३०० रुपैयाँ थप गरी मूल्य निर्धारण गरिने व्यवस्था गरिएको छ।
धनतेरसका अवसरमा सुन तथा चाँदीका सिक्का खरिद गर्न बबरमहलस्थित टक्सार विभागमा सर्वसाधारणको बाक्लो भीड लागेको छ। बिहानैदेखि उपभोक्ता लामो लाइनमा बसेर सुनका असर्फी तथा चाँदीका सिक्का खरिद गरिरहेका छन्।
धनतेरसमा सुनचाँदीका सामग्री तथा सिक्का खरिद गर्नुलाई शुभ, सौभाग्य र समृद्धिको प्रतीक मान्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहिआएको छ।




.gif)





